पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

प्रदेश लोकसेवा आयोगलाई प्राविधिक कर्मचारी भर्ना गर्न सैद्धान्तिक सहमति 

radionepal

अजय कुमार झा, जनकपुरधाम । प्रदेश नंं २ को सरकारले प्रदेशमा अति आवश्यक प्राविधिक कर्मचारीको स्थायी भर्नाका लागि प्रदेश लोकसेवा आयोगलाई अनुमति प्रदान गरेको छ ।  

प्रदेश मन्त्रीपरिषदको आज बसेको बैठकले प्रदेश लोक सेवा आयोगलाई स्वास्थ्य र इन्जिनियरिङ्ग सेवामा सातौ तह सम्मको भर्ना लिनका लागि सैद्धान्तिक सहमति प्रदान गरेको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिनु भएको छ । 

प्रदेश निजामति सेवा सम्बन्धि ऐन प्रदेश सभावाट पारित नभए सम्मको लागि संघीय निजामति ऐनलाई टेकेर अति आवश्यक प्राविधिक पदको रुपमा रहेको इन्जिनियर र चिकित्सक भर्ना गर्नका लागि अनुमति दिईएकाले अव लोकसेवा आयोगलाई अगाडी बढ्ने वाटो खुलेको छ ।

त्यसै गरि बैठकले लोक सेवा आयोगको ओएनएम पारित गर्नुका साथै लोक सेवाको सचिवमा काम काज गर्न आन्तरिक मामिला मन्त्रालयका सचिव विरेन्द्र कुमार यादवलाई जिम्मेवारी दिईएको छ ।

यसै गरि लोक सेवा आयोगको क्रियाकलाप अगाडी बढाउनका लागि २५ जना कर्मचारीको पदपूर्ति तत्कालै गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिनु भयो । 

कोरोना महामारीमा प्रदेशमा चिकित्सकको आभाव र विकास निर्माणका लागि इन्जिनियर भर्ना गर्नु पर्ने आवश्यकतालाई ध्यानमा राख्दै प्रदेश सरकारले यी दुबै क्षेत्रमा स्थायी नियुक्तिको प्रक्रिया लोकसेवा आयोग मार्फत गराउने भएको छ ।