पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

क्यानले आह्वान गरेका पदहरुमा सोचेभन्दा धेरै आवेदन

अजय बम, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले आह्वान गरेको मुख्य प्रशिक्षक, जनरल म्यानेजर, आर्थिक निर्देशक र क्रिकेट ब्यवस्थापकमा सोचेको भन्दा धेरै आवेदन परेको छ ।

बुधबार राती सकिएको आवेदनको मितिमा मुख्य प्रशिक्षकमा ७२ जनाको आवेदन परेको छ । जसमा भारत, पाकिस्तान, अष्ट्रेलिया, वेष्ट इन्डिज, दक्षिण अफ्रिका, इंग्ल्याण्ड जस्ता देशबाट प्रशिक्षकका लागि आवेदन परेको छ ।

मुख्य प्रशिक्षकको आवेदन दिनेमा पूर्व प्रशिक्षक पुबुदु दशासायकेको नाम पनि रहेको छ भने अष्ट्रेलियन प्रशिक्षक डेभ वाटमोरको पनि नाम रहेको छ । तर, क्यानले राखेको मापदण्डमा उनको उमेर नपुग्ने देखिएको छ । क्यानले ६० वर्ष मुनीका ब्यक्तिले मुख्य प्रशिक्षकका लागि आवेदन दिन पाउने भनेको छ ।

इंग्ल्याण्ड र क्रिकेट अष्ट्रेलियाको लेभल थ्री को प्रशिक्षक हुनुपर्ने कम्तिमा तीन वर्षको अनुभव हुनुपर्ने मापदण्ड राखिएको छ । नेपालमा हाइपर्फमेन्सका लागि एक पटक नेपाल आएका वाटमोर निकै अनुभवी प्रशिक्षक रहेका छन । उनले श्रीलंका, बंगलादेश, पाकिस्तान, जिम्बावेको मुख्य प्रशिक्षकका रुपमा काम गरिसकेका छन ।

उनी अहिले सिंगापुर क्रिकेट टिमको मुख्य प्रशिक्षकमा रहेका छन । गत फेब्रुअरीमा मात्र उनी सिंगापुर क्रिकेटको प्रशिक्षकमा नियुक्त भएका थिए ।

यस्तै जनरल म्यानेजरमा पनि सोचेको भन्दा धेरैको आवेदन परेको छ । त्यसमा ४५ जनाको हाराहारीमा आवेदन परेको बताइएको छ । यसमा रौनक मल्ल, विनोद दास, धिरेन्द्र पन्तले महाप्रबन्धकमा आवेदन दिएको बताइएको छ । जनरल म्यानेजरमा आवेदन दिने धेरै जसो नेपाली नै रहेका छन । 

फाइनान्स म्यानेजरमा २३ जनाले आवेदन दिएका छन । 

सेप्टेम्बर तीन तारिखमा क्यानले विभिन्न पोष्टका लागि आवेदन खुल्ला गरेको थियो । अब आवेदन दिनेको सूची तयार पारिएको छ । उनीहरुलाई क्यानले आफुले तोको मापदण्ड अनुसार सर्टलिष्ट गर्नेछ । त्यसपछि अन्तरवार्तामा पर्नेहरुको सूची बनाइने छ । 

यसका लागि क्यानले पाँच जनाको समिति बनाउनेछ । जसमा एक जना आइसीसीको प्रतिनिधि राखिनेछ भने तीन जना क्यानबाट र एक जना एक्सपर्ट राखिनेछ ।