पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

निजी मेडिकल कलेजहरूले गरेको निर्णय कार्यान्वयन नगर्न अनुरोध

radionepal

केशव ढुंगाना, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यार्थीको कोरोना परीक्षण गरी परीक्षामा सहभागी गराउने भनी निजी मेडिकल कलेजहरूले गरेको निर्णय कार्यान्वयन नगर्न अनुरोध गरेको छ । 

मन्त्रालयको आजको प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले परीक्षामा सहभागि गराउनका लागि मात्रै लक्षण नभएका विद्यार्थीको रियल टाईम पिसिआर परीक्षण नगर्न निजी मेडिकल कलेजहरूलाई आग्रह गर्नुभयो । 

प्रवक्ता प्रा. डा. गौतमले रियल टायम पिसिआर परीक्षणका लागि निर्धारण गरेको मापदण्ड भन्दा बाहिरका व्यक्तिहरूको परीक्षण गर्दा श्रोतको अनावश्यक खर्च हुने र कोरोना विरूद्धको लडाईमा प्रतिकुल असर पर्ने बताउनुभयो । 

यसैगरी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रियल टाईम पिसिआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएका व्यक्तिलाई सम्बन्धित प्रयोगशालाले नै परीक्षण रिपोर्ट दिने व्यवस्था गरेको जनाएको छ । 

संक्रमितलाई आइसोलेसन सेन्टर सम्म पुर्याउने तथा अन्य व्यवस्थापन गर्ने कामलाई सहज बनाउन यस अगाडि इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखामा पठाउनुपर्ने व्यवस्था गरिएको भएपनि पछिल्लो पटक होम आइसोलेसनमा बस्नेको संख्या बढ्दै गएपछि उनिहरूको सुविधाका लागि यो व्यवस्था गरेको मन्त्रालयका प्रवक्ता प्रा. डा. गौतमले बताउनुभयो ।