पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

खेलाडीको वर्गीकरणमा भएको निर्णय पुनर्विचार गर्न आग्रह

अजय बम, काठमाडौं । क्रिकेट खेलाडी संघ नेपाल (सीप्यान)ले राष्ट्रिय क्रिकेट टिमका पुरुष र महिला खेलाडीको वर्गीकरणमा भएको निर्णय पुनर्विचार गर्न आग्रह गरेको छ ।

सीप्यानले नेपाल क्रिकेट संघ (क्यान) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) समक्ष वर्गीकरणमा विषयमा खेलाडीको अनुरोधका आधारमा निर्णय पुनर्विचार गर्न ध्यानकर्षण गराएको हो । 

सीप्यानले खेलाडीको वर्गीकरणमा थप प्रष्टता आवश्यक देखिएको भन्दै वर्गीकरणलाई पारदर्शी रुपमा निश्चित मापदण्ड तोकेर अवलम्बन गर्न आवश्यक रहेको बताएको छ ।

उसले वर्गीकरणलाई तर्कसम्मत र त्रुटिरहित बनाउन तथ्यपरक, वस्तुपरक र वैज्ञानिक बनाउनुपर्ने आवश्यकता औल्याएको हो । 

सीप्यानले क्रिकेटलाई व्यवसायिक बनाउन खेलाडीको आयस्रोतलाई व्यवस्थित बनाउनुपर्ने र खेलाडीको उच्च मनोबल बनाउन आवश्यकता रहेको उल्लेख गर्दै विभेदको अनुभूति हुने वातावरणलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिएको छ ।

असोज ६ गते भरतपुरको चितवनमा बसेको नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठकले पुरुष तथा महिला खेलाडीको वर्गीकरण गर्दै केन्द्रिय सम्झौता दिएको थियो । तर वर्गीकरण वैज्ञानिक नभएको भन्दै क्यानको चौतर्फी विरोध भएको थियो । सोही विषयमा सीप्यानले निर्णय पुनर्विचार गर्न आग्रह गर्दै क्यान र राखेपमा ध्यानकर्षण पत्र बुझाएको हो ।

केन्द्रिय खेलाडी सम्झौता ग्रेड र पारिश्रमिक निर्धारण गर्न क्यानले बनाएको समितिका संयोजक तथा कोषाअध्यक्ष रोशनकुमार सिंहले यस विवादलाई आगमी बोर्ड बैठक मार्फत मिलाउन प्रयास गर्ने बताउनुभयो ।