पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

‘दुई साताभित्र कुनै लक्षण नदेखिए कोरोना परीक्षण गर्नुपर्दैन’

radionepal

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यात्रा गर्नेबित्तिकै आशङ्काको भरमा कोरोना परीक्षण नगर्न सबैमा आग्रह गरेको छ । 

सङ्क्रमित व्यक्तिको प्रत्यक्ष सम्पर्कमा आएको पाँच दिनअघि परीक्षण गराउँदा आफूमा सङ्क्रमण छ–छैन भन्ने थाहा नहुने भएकाले यात्रा गर्नेबित्तिकै हतारमा कोरोना परीक्षण नगर्न मन्त्रालयका प्रवक्ता प्राडा.जागेश्वर गौतमले आग्रह गर्नुभयो । 

यात्रा गर्ने व्यक्तिले दुई सातासम्म क्वारेन्टिनमा बस्नुपर्ने र त्युस अवधिमा कोरोना भाइरससम्बन्धी कुनै लक्षण देखिएमा स्थानीय सरकारलाई जानकारी गराउन उहाँले आग्रह गर्नुभयो ।

अत्यन्त जरुरी भए मात्र यात्रा गर्न सुझाव दिँदै उहाँले यात्राका क्रममा तोकिएको जनस्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न अनुरोध गर्नुभयो ।

लकडाउन खुलेलगत्तै विभिन्न पेशा व्यवसायका सिलसिलामा राजधानी भित्रने व्यक्तिलाई घरधनी वा छिमेकीले पिसिआर परीक्षण गरेर मात्र आउन दबाब दिएको र पिसिआर परीक्षणका लागि सर्वसाधारणले दुःख पाएको भन्दै मन्त्रालयले राजधानी भित्रने बित्तिकै परीक्षणका लागि दबाब नदिन पनि अनुरोध गरेको छ ।

रासस