पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

बालविवाह गर्ने दुई जोडी पक्राउ

भिम सिजापति, दैलेख । दैलेखको नौमूले गाउँपालिका ३ द्वारीका १७ वर्षीय बालक र नौमूले गाउँपालिका ५ नौमूलेकी १६ वर्षीया बालिकालाई बालविवाहको आरोपमा प्रहरीले पक्राउ गरेको छ । 

भदौ १० गते बालविवाह गरी बसेको भन्ने सूचनाको आधारमा उनीहरुलाई शुक्रबार नौमूले गाउँपालिका ३ द्वारीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायव उपरीक्षक अनमोल श्रेष्ठले बताउनुभयो । 

त्यसैगरी डुंगेश्वर गाउँपालिका ४ अवलपराजुलका २७ वर्षीय पूर्णबहादुर बुढाले सोही गाउँपालिका ३ चौखुडाकी १५ वर्षीया बालिकालाई बालविवाह गरेको आरोपमा दुबै जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

भदौ ३० गते बालविवाह गरेको भन्ने पीडित पक्षको उजूरीको आधारमा असोज ६ गते पक्राउ गरेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताउनुभयो । 

यी दुबै जोडीलाई बाल विवाह कसूरमा मुद्दा दर्ता गरी घटनाको अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । 

मुलुकी अपराध सहिंता ऐन २०७४ को दफा १७३ ले उमेर २० वर्ष नपुगी गरिने विवाहलाई बालविवाह मानेको छ । ऐनले बालविवाह गर्ने र गराउनेलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैंयाँसम्म जरिवाना तोकेको छ ।