पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

कुल वस्तु आयात १९.६ प्रतिशतले घट्यो

भुवनप्रसाद आचार्य, काठमाडौं । चालु आर्थिक वर्ष २०७७–७८ को पहिलो महिनामा नेपालमा कुल वस्तु आयात १९.६ प्रतिशतले घटेर ८५ अर्ब ८१ करोड कायम भएको छ । 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ११.५ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १६.८ प्रतिशत, ३९.७ प्रतिशत र १०.५ प्रतिशतले घटेको छ ।

साउनमा नेपालको कुल वस्तु निर्यात ८.९ प्रतिशतले बढेर ९ अर्ब ६२ करोड पुगेको छ । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ क्रमशः ४.४ प्रतिशत र २५.५ प्रतिशतले निर्यात वृद्धि भएको छ, चीनतर्फ ७१.७ प्रतिशतले घटेको छ । 

वस्तुगत आधारमा पश्मिना, ऊनी गलैंचा, आयुर्वेदिक औषधी, जडिबुटी, जुटका सामान लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, जुस, अलैंची, पोलिस्टर यार्न तथा अन्य धागो, जस्तापाता लगायतका वस्तुको निर्यात घटेको छ ।

नेपाल राष्ट्र बैकले शुक्रबार जारी गरेको मुलुकको आर्थिक अवस्थाको विश्लेषण सम्बन्धी प्रतिवेदनमा वस्तुगत आधारमा चामल, दूरसंचारका उपकरण तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, कोइला, खाने तेल लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, अन्य मेसिनरी तथा पार्टपुर्जा, एम.एस. बिलेट, हटरोल सीट लगायतका वस्तुको आयात घटेको छ । आर्थिक वर्ष २०७७–७८ को पहिलो महिनामा कुल वस्तु व्यापार घाटा २२.२ प्रतिशतले घटेर ७६ अर्ब १९ करोड कायम भएको छ ।