पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

मन्त्री भट्टराईद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण

radionepal

काठमाडौं । संक्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण तथा अनुगमन गर्नुभएको छ । 

विश्व महामारीको रुप लिएको कोभिड १९ का कारण गत चैत दोस्रो हप्तादेखि बन्द आन्तरिक उडान आजवाट पुन सञ्चालनमा आएपछि आजै मन्त्री भट्टराई त्यहाँको वस्तुस्थिति अवलोकन गर्न विमानस्थल पुग्नुभएको हो ।

सो क्रममा मन्त्री भट्टराईले यात्रुहरुको चापको अवस्था, स्वास्थ्य सम्वन्धी प्रोटोकलको पालना लगायतका कुराहरुको अवलोकन गर्नुभएको थियो । साथै आवश्यक स्वास्थ्य सर्तकताका उपायहरुको प्रभावकारी पालनाका लागि नागरिक उडड्यन प्राधिकरणलाई निर्देशन समेत दिनुभयो ।

आजै मन्त्री भट्राई पर्यटन मन्त्रालय अन्र्तगतका राष्ट्रिय गौरवका आयोजनाहरुको कार्यलय पुग्नुभई भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनको विभिन्न डिजाइनहरुको समेत अवलोकन गर्नुभएको थियो । 

यस विमानस्थलको काम करिव ९२ प्रतिशत सकिएको छ । आगामी डिसेम्बर सम्म सबै काम सम्पन्न गरी मार्चबाट सञ्चालनमा ल्याउने लक्ष्य राखिएको यस विमानस्थलमा विद्युतीय उपकरण जडानको काम बाँकी छ । 

यसका लागि विदेशबाट जनशक्ति ल्याउनु पर्ने तर कोभिडका कारण जनशक्ति आउन ढिलाई भइरहेको छ ।