पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

स्थायी कमिटिको निर्णय बमोजिम मन्त्रिपरिषद् पुर्नगठन गर्ने नेकपा सचिवालयको निर्णय

radionepal

तुलसी सापकोटा, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयको बैठकले मन्त्रिपरिषद्को पुर्नगठन स्थायी कमिटिको निर्णय बमोजिम गर्ने तय गरेको छ ।

कोटेश्वर पेरिसडाँडा स्थित पार्टी कार्यालयमा भएको बैठकले मन्त्रिपरिषद गठनका विषयमा विभिन्न कोणबाट आएका सुझावका आधारमा छलफल गर्ने तय गर्दै कमिटिको निर्णय बमोजिम अघि बढ्ने नीतिगत निर्णय गरेको हो ।

बैठकले संवैधानिक र राजनीतिक नियुक्ति बारेमा सरकारलाई आधार तय गर्न सजिलो बनाउनका निम्ति छलफल गर्ने कार्यसूची तय गरेको नेकपाका प्रवक्त नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकले सांगठनिक एकीकरणका बाँकी कामहरु पुरा गर्ने विषयमा छलफल गर्ने, संगठन विभागका निर्णयहरुको कार्यान्वयन गराउने, स्थायी कमिटि र केन्द्रिय कमिटिमा रिक्त रहेका पदहरुको पदपूर्ति र विगतमा गरिएका काम कारवाहीका विषयमा छलफल गर्ने कार्यसूची समेत तयार पारेको छ ।

बैठकले पूर्णकालिन कार्यकर्तालाई आर्थिक सहयोग गर्ने प्रचलन अनुसार केन्द्रिय कमिटिका सदस्यलाई नियमित रुपमा आर्थिक सहयोग गर्ने बारेमा पनि छलफल गर्ने एजेण्डा तय गरेको पार्टी प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै कोरोनाको वर्तमान अवस्थामा संघीय संसदका सदस्यहरुको तलब भत्ता के गर्ने भन्ने विषयमा छलफल गर्न समेत आजको सचिवालय बैठकले एजेण्डा तय गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक भोली दिउसो १ बजे पुनःपेरिसडाँडामा बस्ने तय गरिएको छ ।