पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

भद्रपुरमा पहिलो पटक समुदायमा कोरोना संक्रमण

रोहित काफ्ले, झापा । झापाको सदरमुकाम रहेको भद्रपुरमा पहिलोपटक समुदायस्तरमा कोरोना संक्रमण देखिएको छ ।

भद्रपुर नगरपालिका, डा नं ५ देबीवस्ती बस्ने ६७ वर्षीया एक बृद्धा महिलामा कोरोना पुष्टि भएको भद्रपुर नगरपालिका स्वास्थ्य शाखाका फोकल पर्सन मनोज भट्टराईले जानकारी दिनुभएको छ ।

घाँटीमा मासु पलाएको भन्दै स्थानीय ओम साई पाथीभरा हस्पिटलमा जाँचका लागि पुगेकी ती महिलालाई त्यहाँका चिकित्सकले शल्यक्रिया गर्नुपर्ने भन्दै पीसीआर परीक्षणको रिपोर्ट मागेपछि शुक्रबार मेची अस्पतालको प्रयोगशालामा गरिएको परक्षिणको रिपोर्ट आइतबार पोजेटिभ आएको र यसले समुदायमा कोरोना संक्रमण पुगेको आशंका गरिएको फोकल पर्सन भट्टराईले बताउनु भयो ।

ती महिलालाई कोरोना संक्रमण देखिएपछि अहिले स्वास्थ्य शाखाको टोलीले उनका परिवारसहित छरछिमेकका १८ जनाको स्वाब संकलन गरेको छ भने संक्रमित महिलालाई अस्पतालको आइसोलेसनमा पठाइएको वडाध्यक्ष बन्धु कार्कीले जानकारी दिनुभयो ।

भारतसँगको सीमा क्षेत्र भएपनि अहिलेसम्म नगरपालिकाको नेतृत्वको क्रियाशिलता र सावधानीका कारण भद्रपुरमा समुदायमा संक्रमण फैलिन पाएको थिएन तर केही दिनयता लामो दूरीका यातायात चल्न थालेका र बजारमा पनि भीड बढ्न थालेकोले जोखिम पनि बढेको नगरप्रमुख जीवनकुमार श्रेष्ठले बताउनु भयो ।