पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

जीर्ण पृथ्वी राजमार्ग अर्थात् ‘टालटुले विकास’

      

अशोेक विश्वकर्मा
तनहुँ ।
 देशको तीन तहको सरकारको विकास बजेटको अधिकांश हिस्सा पूर्वाधार विकासले ओगट्ने गरेको छ ।

सडक निर्माणलाई मुख्य विकास सम्झने नेपाल र नेपालीहरूलाई जताततै बनेको सडकले केही राहत दिए पनि बर्षेनी एउटै सडकमा देखिने खाल्टाखुल्टीको सास्तीले भने छोड्न सकिरहेको छैन । एउटै सडकमा पटक/ पटक देखिने खाल्डा र मर्मतका नाउँमा झारा टार्ने प्रवृत्तिको पुनरावृत्ति कथा धेरै जसो राजमार्गको पुरानै कथा हो ।

काठमाडौँ र पोखरालाई जोड्ने पृथ्वीराज मार्गको अवस्था पनि तीनै अधिंकास सडकभन्दा भिन्न छैन ।अचेल नौबिसेदेखि पोखरासम्मको एक सय ७४ किमी लम्बाई रहेको पृथ्वी राजमार्गमा सवारी साधनहरू आफ्नै गतिमा हुइँकिन पाउँदैनन् ।

व्यवस्थित नाला नहुँदा राजमार्गका कालोपत्रे बर्षेनी बर्षातको पानीले बगाउने गरेको छ । राजमार्गका बिचबिचमा रहेका खाल्डा खुल्डीले सवारी र चालकलाई हैरानी त पैदा गरेको छ नै दुर्घटना समेत बढाएको छ ।

ट्राफिक कार्यालय गण्डकी प्रदेशका प्रमुख एवं प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले सडक दुर्घटनाको कारण मध्ये जीर्ण सडक (खाल्डा खुल्डी) पनि रहेको बताउनुभयो ।

प्रमुख ढकालले सडक दुर्घटना न्यूनीकरणका लागि खाल्डाखुल्डी पुर्नुका साथै सडक मर्मत गर्नुपर्ने सुझाव सम्बन्धित निकायमा दिने गरेको भएता पनि प्रक्रियागत रूपमा जानुपर्ने भएकाले समयमा नहुने गरेको बताउनुभयो ।

ट्राफिक कार्यालय गण्डकी प्रदेशको तथ्याङ्क अनुसार वार्षिक चार सयभन्दा बढी सडक दुर्घटना हुने गरेको छ ।

आर्थिक वर्ष २०७६/०७७ मा चार सय ३९ दुर्घटनामा परि दुई सय २३ जनाले ज्यान गुमाएका थिए भने चार सय २४ गम्भीरसहित सात सय ७१ जना घाइते भएका छन् । जसमध्ये पृथ्वी राजमार्गमा मात्र ७६ वटा सडक दुर्घटना भएको तथ्याङ्कले देखाउँछ ।

चालु आर्थिक वर्षको यो दुई महिनाको अवधिमा ५६ सडक दुर्घटना भइसकेको प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष योगेन्द्र केसीले सार्वजनिक सवारी गुड्ने सार्वजनिक सडकलाई सरकारले प्राथमिकतामा नराखेको गुनासो गर्नुभयो ।

उहाँले आफूहरूले सरोकारवाला निकायमा दर्जनौँ पटक माग राखे पनि कुनै सुनुवाइ नहुने गरेको उल्लेख गर्नुभयो । “यो सडक हुँदै देशका उच्च ओहोदाका व्यक्तिहरू हिँड्नुहुन्छ तर सडकको जीर्ण अवस्था देख्नु हुन्न” उहाँले भन्नुभयो “देशमा रेल र पानी जहाज ल्याउने हो सवारीको लागि बाटो किन बनाउनुपर्याे ?” अध्यक्ष केसीले सडक दुर्घटना चालककै लापरबाहीले भएको भन्दै दोष दिँदा सडकको अवस्थालाई पनि ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।

यस्तै तनहुँ ब्यास भूमि यातायात कम्पनी प्रालिका अध्यक्ष राजकुमार श्रेष्ठ राकुको पनि गुनासो उस्तै छ । बारम्बार आवाज उठाउँदा समेत सडक डिभिजन कार्यालयले वास्ता नगर्ने गरेको उहाँले बताउनुभयो । “कुनै प्रतिक्रियापछि एक पटक कार्यालय प्रमुखलाई भित्र राखेर दबाब स्वरूप चाबी लगायौ बल्ल माग सुनुवाइ भयो ।” उहाँले भन्नुभयो ।

सडकको दुरावस्था र सम्बन्धित निकायमा बारम्बार सडक मर्मतका लागि माग राखिएता पनि सुनुवाइ नभएको गुनासो बढ्दा सडक डिभिजन कार्यालय कास्कीले भने प्रक्रिया अघि बढेको जनाएको छ ।

डिभिजन प्रमुख सुनिलबाबु पन्तले सडक मर्मतको मुख्य काम हुने चैत्र, वैशाख र जेठ महिनामा लकडाउन भएका कारण सडक मर्मत हुन नसकेको जानकारी दिनुभयो ।

उहाँले पृथ्वी राजमार्गको मुग्लिन –पोखरा सडक खण्डको विस्तारका लागि एडिबीले काम अघि बढाउने भएकाले राजमार्गको दिगो निर्माण हुन नसकेको स्विकार्नुभयो ।

“सडक एडिबीको ठेक्का लागेपछि नै बन्ने भएकाले टालटुलको काम मात्र हुँदै आएको छ” उहाँले भन्नुभयो “अब फेरि पनि मर्मतका लागि ठेक्का पट्टाको गर्न प्रक्रिया सुरु भएको छ ।”

राजमार्गको दुलेगौडादेखि पोखरासम्मको भाग अत्यन्त जीर्ण अवस्थामा रहेपनि तत्काल मर्मतका लागि चाँसो नदिदाँ उपभोक्ताहरुले सास्ती खेप्न बाँध्य छन् । बर्षेनी गरिने मर्मत कार्य १ वर्ष समेत टिक्न नसक्नुले नेपालको विकासलाई गिज्याइरहेको त छ नै गुणस्तरीयतामा समेत शंका उब्जाएको छ ।