पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

झापाका युवा लघु उद्यमतर्फ आर्कषित

निशेष राई
झापा ।
झापाका युवाहरु विभिन्न लघु उद्यमतर्फ आर्कषित भएका छन् । विदेशबाट फर्किएका तथा आफनै ठाँउमा स्वरोजगार वन्ने अभिप्रायले पछिल्ला बर्ष कृषि तथा अन्य लघु उद्यमतर्फ आर्कषित भएका हुन् ।

उद्यम गर्न वित्तीय संस्था तथा स्थानीय तहहरुले समेत प्रोत्साहित गरिआएका कारणले गर्दा पनि झापाका युवा उद्यमीहरुले व्यवसायिक उद्यम गर्न थालेका हुन् ।

यसैक्रममा दमकका चार जना युवाहरु मिलेर सर्फ, साबुन उद्योग शुरु गरेका छन् । बिभिन्न पेशामा संलग्न युवाहरुले आफ्नै ठाँउमा सगरमाथा बहुउद्देश्यीय उद्योग शुरु गरेका हुन् ।

दमक–४स्थित मालपोत कार्यालय नजिकै रु एक करोडको लगानीमा उद्योग स्थापना गरी सञ्चालनमा ल्याएका हुन् ।

उद्योगले लुगा तथा भाडा माछ्ने सर्फ, भाडा माझ्ने तरल साबुन, हरपिक, फिनेल, गाडी धुने लिक्वीड जस्ता उपभोग्य सामाग्रीहरु उत्पादन गर्ने सञ्चालक लक्ष्मी अधिकारीले बताउनुभयो ।

स्थानीय युवालाई रोजगारी र स्थानीय उत्पादनलाई प्रोहत्सान गर्न उद्देश्यले आफ्नै ठाँउमा उद्यम शुरु गरिएको अर्का सञ्चालक नारायण मुर्मुले बताउनुभयो ।

उहाँले रोजगारीका लागि विदेश त्यागेर स्वदेशमा नै उद्यम गर्न साथीहरु मिलेर यस्तो व्यवसायिक उद्यम शुरु गरेको बताृनुभयो । केहीदिन भित्र नै उद्योगले उत्पादन शुरु गर्ने लक्ष्य राखिएको उहाँले जानकारी दिनुभयो ।

यसैगरी जिल्लाकै कमल गाँउपालिका वडा नं. ५ का केही युवाहरूले पापड उद्योग शुरू गरेका छन् ।

स्थानीय युवा र एकल महिला गरी पाँच जना मिलेर स्वादिष्ट खाद्यान्न उद्योग सञ्चालनमा ल्याएका हुन् ।

उद्योगले दशैँ अगाडि नै आफ्नो उत्पादन बजारमा ल्याउने गरि उद्योगमा धमाधम काम भइरहेको सञ्चालक राम थापाले बताउनुभयो ।्

उद्योगमा कोरियाबाट फर्किएका युवाहरु संलग्न छन् । कोरियामा सिकेको सीपलाई स्थानीय ठाउँमा उपयोग गर्न र स्थानीयस्तरमा रोजगारी बढाउने उद्देश्यले उद्योग खोलिएको अर्का सञ्चालक युवा कमल ओझाले बताउनुभयो ।

उक्त उद्योगले मुगदाल, उरठ दाल ,भुजिया, पापड आप्mनै कच्चा पदार्थबाट उत्पादन गर्ने उहाँले बताउनुभयो ।
उहाँका अनुसार अहिले पनि बजारमा भारतीय पापडले बजार ओगटेको र त्यसलाई निरुत्साहित गर्न आफनै ठाँउबाट त्यही गुणस्तरमा त्यस्ता खाद्यान्नहरु उत्पादन गर्न सकिने छ । एकल महिला सितादेवी ओझासहितका उद्यमीहरुको उद्योगमा प्रारम्भमा रु.३० लाखको लगानी रहेको छ ।

उद्योगको आफनै भवन बनाउन आवश्यक संरचनाको निर्माण कार्य धमाधम गरिरहेको छ ।

दैनिक पाँच हजार प्याकेट पापड उत्पादन गरेर बजारसम्म पुर्याउने लक्ष्य राखेर सुरु गरिएको उद्योगले स्थानीय बजार हुँदै आफ्ना उत्पादन देशैभरिसम्म निर्यात गर्न सकिने सञ्चालकको विश्वास छ ।