पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

साँढे ८ मेगावाटको सोलार प्रोजेक्ट अन्तिम चरणमा

radionepal

रामप्रसाद आचार्य, रुपन्देही । साँढे ८ मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय ग्रिडमा जोडिने बुटवल सोलार पावर प्रोजेक्टको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
 
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नंं ६ गोरकट्टामा निर्माणाधीन यो योजना सम्पन्न हुन कुल ७० करोड लागत लाग्ने छ । 

गुल्मीको रिडी हाइड्रो पावरको मातहतमा निर्माण गरिएको यो प्रोजेक्ट निजी क्षेत्रले सौर्य ऊर्जाबाट उत्पादन गर्ने सबैभन्दा ठूलो आयोजना मानिएको परियोजनाका प्रबन्धक इलेक्ट्रोनिक्स इन्जिनियर यतु रावतले जानकारी दिनुभयो । 
 
प्राधिकरणसंग २५ वर्षका लागि खरिद सम्झौता गरेको परियोजनाले सोलार फार्मिङ गरेको २६ विगाह जग्गाको पनि शान्ति नमुना माविसंग ३० वर्षका लागि लिज सम्झौता गरेको छ । 

रावतका अनुसार अहिले आयोजनाको प्यानल, ट्रान्सफर्मर, इन्भटर जडान कार्य सकिएको छ । गत बैशाख महिनामै विजुली उत्पादन शुरु भइसक्ने लक्ष्य आयोजनाको भएपनि कोरोना महामारीका कारण ढिला भएको आयोजनाको भनाइ छ  ।

रिडी हाइड्रोपावर कम्पनीले २०७६ साल कात्तिकदेखि बुटवल सोलार ग्रिड कनेक्टेड प्रोजेक्टको नामबाट साँढे ८ मेगावाट विद्युत् उत्पादन गर्ने गरी काम अघि बढाएको थियो । अहिले सबस्टेसन निर्माणको काम पनि सकिएको छ भने यहाँबाट उत्पादित विद्युत्लाई रिसिभ गर्नको लागि अमुवा सबस्टेशनमा ट्रान्समिसन लाइनको काम भइरहेको छ । 

मणिग्राममा लिजमा लिएको जग्गामा ३२ हजार सोलार पाता जडान गरिएको छ । जडान गरिएका प्रत्येक पाता तीन सय ३० वाट क्षमताका रहेका छन् । यो परियोजना व्याट्रिमा निर्भर नभई प्रत्येक पाताबाट उत्पादित विद्युत् सिधै ग्रिडमा लगी जोडिने इन्जिनियर रावतले बताउनुभयो । 

परियोजनाको प्रदेश ५ योजना आयोगको टोलीले अवलोकन गरेको छ । प्रदेश योजना आयोगका उपाध्यक्ष डा. इश्वर गौतम र सदस्य डा. विष्णु गौतमले परियोजनाको अवलोकन गर्दै प्रदेश सरकार निजी क्षेत्रसंग सहकार्य गरी ऊर्जा उत्पादनका लागि योजना बनाइरहेको बताउनुभयो ।