पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सङ्क्रमित मृर्गौला डायलासिसका बिरामीलाई उपचारमा समस्या

रामप्रसाद आचार्य, रुपन्देही । रुपन्देहीमा मृर्गौलाको डायलाइसिस गराइरहेका बिरामीहरुमा कोरोना संक्रमण देखिएपछि उनीहरुलाई कहाँ राख्ने भन्ने समस्या उत्पन्न भएको छ ।

आइसोलेसन बस्न नपाउँदा डायलाइसिस गराइरहेका संक्रमित मृर्गौलाका बिरामीहरुको विचल्ली भएको छ ।

घरबाट आवतजावत गर्न सवारी साधनसंगै अन्य व्यवस्थापनको समस्या हुने र अस्पतालमा बस्न बेड नपाउँदा जटिलता थपिदै गएको हो ।

बुटवलको कोरोना विशेष अस्पतालमा बेड खाली नभएको र अन्य आइसोलेसनमा बिरामीहरुको स्याहारसुसारमा समस्या हुने भएकाले संक्रमित मिर्गौलाका बिरामी राख्न समस्या भएको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमले बताउनुभयो ।

सो अस्पतालमा उपचार गराइरहेका ३ सय ५४ जना मिर्गौला बिरामीमध्ये १८ जनामा कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ । 

अस्पतालमा संक्रमित बिरामी राख्न बेड अभाव छ, उनीहरुलाई यही राख्दा अन्य बिरामीको डायलाइसिस गर्न पाइदैन अस्पतालका अध्यक्ष आलमले भन्नुभयो ।
मृर्गौलाको डायलाइसिस गराइरहेका संक्रमित बिरामीहरुको अवस्था जोखिमपुर्ण हुने भएकोले आइसोलेसनमा राख्न नसकिएको एन्फा एकेडेमी आइसोलेसन सेन्टर व्यवस्थापन समितिका रामचन्द्र क्षेत्रीले बताउनुभयो ।

भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा डायलाइसिस गराइरहेका बिरामीहरु मध्ये २ जना भिम अस्पतालको आइसोलेसनमा रहेको र बाँंकी सेल्फ आइसोलेसनमा रहेको उक्त अस्पतालका प्रशासकीय अधिकृत कमलराज ढकालले बताउनुभयो ।

यथेष्ट बेड अभावका कारण मृर्गौलाको डायलाइसिस गराइरहेका कोरोना संक्रमितलाई राखेर उपचार गर्न समस्या भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपेरिटेण्डेन्ट डा. राजेन्द्र खनालले बताउनुभयो ।