पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

रुपन्देहीमा करिब १० अर्व लागतमा अत्याधुनिक स्पोर्टस् पार्क बन्ने

रामप्रसाद आचार्य
रुपन्देही ।
रुपन्देहीमा इन्डोर तथा आउट डोर गरी एक सयभन्दा बढी खेलको प्रतियोगिता एकैसाथ आयोजना गर्न मिल्ने गरी स्पोर्ट पार्क बनाउन सुरु गरिएको छ ।

तिलोत्तमा नगरपालिकाको वडा नं ६ मा करिब ५० बिगाहा क्षेत्रफलमा बनाउन लागिएको सो पार्क निर्माणको डिपिआर अन्तिम चरणमा पुगेको छ ।

यो परियोजनाका लागि राष्ट्रिय खेलकुद परिषद्ले आर्थिक वर्ष २०७६/०७७ मा विनियोजन गरेको एक करोड रकमबाट २० लाख रकम डिपिआरका लागि छुट्ट्याइएको थियो । बाँकी रहेको ८० लाख रकमबाट तार बार तथा ग्राउन्ड सम्म्याउने काम धमाधम भइरहेका छन् ।

१० अर्व बढी लागतमा संरचना निर्माण हुने र १० देखि १५ वर्षमा योजना सम्पन्न गर्न सकिने डिपिआर निर्माणको जिम्मा पाएको कन्सल्टेण्ट ग्रुपका योजना प्रमुख इन्जिनियर सुनिल लम्सालले बताउनुभयो ।

स्पोर्ट पार्कमा प्रतियोगिता सञ्चालन तथा प्रशिक्षणका लागि २ वटा फुटबल ग्राउन्ड र सोही अनुसार क्रिकेटका लागि पनि एक प्रतियोगिता र अर्को प्रशिक्षण ग्राउन्ड हुनेछन् ।

खेलमैदानमा तार बार तथा सम्म्याउने कामहरू तीव्रताका साथ भइरहेको निर्माण समितिका अध्यक्ष दिपक पाठकले बताउनुभयो । डिपिआरभन्दा अगाडि स्थानीय खेलकुद मैदान तथा पार्क निर्माणका लागि मास्टर प्लान बनाएर काम अगाडि बढाइएको पाठकले बताउनुभयो ।

बहुउद्देश्यीय तिलोत्तमा स्पोर्ट पार्कमा साफ अन्तर्गतका सम्पूर्ण खेलकुद प्रतियोगिता आयोजना गर्न सकिने छ ।