पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

धनुषाको देवपुरामा दुई पक्षबीच झपड, पहरीद्वारा अश्रु ग्याँस प्रहार

अजय कुमार झा, जनकपुरधाम । जनकपुरधाममा दुई समुदायबीच झडप भएर स्थिति विग्रने अवस्थालाई देखेर प्रहरीले बल प्रयोग गरेर नियन्त्रणमा लिएको छ ।  

जनकपुरधाम उपमहानगरपालिकाको वडा नंं २० देवपुरा रुपैठामा दुई पक्षबीच आज बिहान झडप भएपछि प्रहरीले सात राउण्ड अश्रु ग्याँस प्रहार गरेर स्थिति बिग्रनबाट जोगाएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

झडपले हिंसात्मक रुप लिने अवस्थालाई ध्यान दिएर नियन्त्रणमा लिनका लागि प्रहरीले अश्रु ग्याँस प्रहार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिनु भयो ।

केही दिनअघि सकिएको मुस्लिमहरूको मोहरम्म पर्वका विषयमा सामाजिक सञ्जालमा कोही व्यक्तिले टिप्पणी गरेको विषयमा दुबै पक्षबीच आज झडप भएको थियो ।

देवपुरा रुपैठा नजिकै रहेको फुलगामा चौकीबाट पुगेको प्रहरी सहायक निरीक्षकको नेतृत्वको टोलीले स्थिति नियन्त्रणमा लिन नसकेपछि जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्रहरी निरीक्षकको कमाण्डमा खटेको टोलीले स्थितिलाई नियन्त्रणमा लिईएको र अहिले अवस्था सामान्य रहेको छ । 

अहिले पनि सो क्षेत्रमा उल्लेख्य संख्यामा प्रहरी परिचालन गरेर विषेश निगरानी बढाउने काम भएको प्रहरी नायव उपरीक्षक मिश्रले जानकारी दिनु भयो ।

यता दुवै पक्षका बीचमा प्रशासनको रोहवरमा छलफल गर्ने काम भईरहेको पनि प्रहरी नायव उपरीक्षकले जानकारी दिनु भयो ।