पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

जितिया पर्वलाई एक कठोर पर्व

radionepal

कृष्ण मण्डल, सप्तरी। कोरोना सङ्क्रमणको त्रास र निषेधाज्ञाको माहौलमा पनि तराई मधेसका मैथिली र थारु समुदायका महिलाहरूले सावधानीपूर्वक जितिया पर्व मनाइरहेका छन् । 

हिन्दु धर्मावलम्बीहरूको महत्पूर्णमध्येको एक जितिया पर्वलाई कठोर पर्व भनिन्छ । स्थान ठाउँ अनुसार फरक हुने गरेको यो पर्व मुलुकको मध्य भाग चितवनतिर अविवाहित र विवाहित महिलाहरूले समान रूपमा व्रत बसी मनाउने गरेका छन् भने तराई मधेसमा मैथिली र थारु समुदायका विवाहित महिलाहरूले मनाउने गर्दछन् । 

आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिन सम्म मनाइने यो पर्वमा ३६ घण्टासम्म पानी नखाई निराधार बस्नुपर्ने भएकोले यस पर्वलाई कठोर पर्व भनिन्छ । 

सप्तमीको दिन व्रतालु नुहाई खाई गरी अष्टमीको बिहान ओगठन खाने चलन छ । तर, यस वर्ष ओगठन खान नमिल्ने भएकाले निराधार उपास बसी अब नवमीको दिन सूर्योदयपछि मात्र पारन गरी व्रत सकिनेछ । 

जितिया व्रत कथा अनुसार चील्हो, सियरो नाम गरेका चील र स्याल जस्ता जनावरहरू पनि जितिया व्रत बस्ने भएकोले ती जनावरहरूका निम्ति पातमा राखी पिना बगाउने चलन छ । जितिया पर्वमा जितवाहन देउताको पूजा गरे सन्तानको आयु लामो हुने र परिवारमा सुख, शान्ति कायम रहने धार्मिक विश्वास रहिआएको मैथिली साहित्य परिषद् सप्तरीका अध्यक्ष सतिष दत्त बताउनुहुन्छ । 

जितिया पर्वको अवसरमा सप्तरीसहित मुलुकको विभिन्न ठाउँमा जितवाहन देउताको मूर्ति स्थापना गरी पूजापाठ समेत भइरहेको छ । मूर्ति स्थापना भएको ठाउँहरूमा मेला र सांस्कृतिक कार्यक्रम आयोजना हुने भएकाले यस वर्ष भने कोरोना त्रासले आयोजना हुन सकेन । जुनसुकै अवस्था आए पनि यो पर्व सुरु गरिसकेपछि अनिवार्यरुपमा सबै वर्ष गर्नुपर्ने मान्यता रहेको राजविराजकी एक व्रतालु रमिला साहले बताइन ।   

जितवाहन भगवान्लाई चढाएको तेल प्रसादका रूपमा परिवारका सबै सदस्यले शरीर र कपालमा लगाए पछि आर्शिवाद पाइने जनविश्वास छ । आमाको माया सम्झाउने जितिया पर्वमा छोरी चेली माइती फर्किने परम्परा पनि कायम छ ।