पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

भोजपुरमा पुनः भदौ मसान्त सम्म लकडाउन

गणेश विष्ट, भोजपुर । जिल्लामा पुनः भदौ मसान्त सम्म लकडाउन गर्ने निर्णय गरिएको छ । दुई दिनको फरकमा बैङ्कका कर्मचारी, थुनुवा सहित ८ जनामा कोरोना देखिएपछि थप सतर्कताको लागि जिल्लालाई लकडाउन गरिएको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ ।  जिल्ला सङ्कट व्यवस्थापन केन्द्र भोजपुरको बिहीबार बसेको बैठकले भदौ मसान्त सम्म लकडाउन गर्ने निर्णय गरेको हो । जिल्ला भरका खाद्यान्न र तरकारी पसल बिहान ६ बजेबाट ९ बजे सम्म र दिउँसो ३ बजेदेखि ५ बजे सम्म मात्र खोल्न पाउने गरी बिहीबारबाट लकडाउन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले बताउनु भयो । 

त्यस्तै जिल्लाका सबै बजार पसल, अत्यावश्यक वाकेका सवारी सधान, निजी कार्यालय, सङ्घसंस्था, शैक्षिक संस्था, वित्तीय संस्था, बैङ्क, सहकारी, होटेल लगायतलाई पूर्ण रूपमा बन्द गर्ने निर्णय भएको छ । 

बिहीबार टेम्केमैयुङ गाउँपालिकाका २१ वर्षीय, भोजपुर नगरपालिकाका २८ वर्षीय र षडानन्द नगरपालिकाका २२ वर्षीय पुरुषमा कोरोना रहेको भोजपुरका सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद लुइँटेलले जानकारी दिनु भयो  । 

बैङ्कका कर्मचारीमा कोरोना देखिएपछि राष्ट्रिय वाणिज्य भोजपुर शाखाको कारोबार बन्द गरिएको छ । बुधवार भोजपुरको षडानन्द नगरपालिकाका–५ जनामा कोरोना पुष्टि भएको छ । योसँगै जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या २० पुगेको छ भने ६ जना निको भएर घर फर्केका छन् ।