पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

जितिया पर्वको आज कठोर उपवासमा व्रतालु

radionepal

सञ्जीव विक्रम शाह, राजविराज । पुत्र प्राप्ति, सन्तानको दीर्घ जीवन तथा पारिवारिक सुख शान्तिका लागि सुरु जितिया पर्वको दोस्रो दिन बिहीबार व्रतालुहरू कठिन उपवासमा बसेका छन् । नुहाएर खानु (नहा खा) सँगै सप्तरीसहित तराईका जिल्लाहरूमा बुधवार देखी तीन दिने विधिवत् रूपमा धार्मिक विधि अनुसार जितिया पर्व सुरु भएको छ । कोरोना भाइरस संक्रमण नियन्त्रणको लागि जारी निषेधाज्ञा बिच भिडभाड नगरी घर, आँगन, तथा पोखरीमा दुईचार जनाको समूहमा जितिया पर्व सुरु गरेको छ ।

विवाहित व्रतालु महिलाहरू व्रत बस्नुअघि बुधवार जलाशय नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौँला, झिँगनीको पातमा भगवान् जिमतुवाहन र दिवङ्गत पितृलाई चिउरा, दही, अमोठ, पिना, तोरीकोतेल प्रसादका रूपमा अर्घ दिएर(चढाएर) पूजाआजा गरिएको छ । उक्त प्रसाद व्रतालु र परिवारका सबै सदस्यलाई खुवाउने गरिन्छ । देवतालाई चढाएकै तेल मध्येबाट आ–आफ्ना बालबच्चासहित परिवारको सदस्यहरूलाई लगाइन्छ ।

यस पर्वको बिहीबार सप्तमी बिहान सूर्योदय भन्दा पहिले वा बिहान काग कराउनु भन्दा अघि व्रतालु महिलाहरू ओंगटन सम्पन्न गर्नुपर्नेमा साइत अनुसार सो ओंगटन षष्ठी राती १० बजे नै सम्पन्न गरी उपवासमा बसेका छन् । ओंगटनमा घिरौँलाको पातमा दही च्युरा, केरा, पान सुपारी जिमतुवाहनालाई चढाएर पूजा गरिन्छ । त्यही प्रसाद व्रतालुसहित परिवारका सदस्यहरू सूर्योदय भन्दा अघि नै खाइसक्नु पर्दछ । व्रतालुहरू प्रसादसँगै थप खानेकुरा पेटभरि खाने गरिन्छ । ओगट्नको अर्थ केही खानेकुरा खाएर (ओठमा लगाएर) दिनभर निराहार एवं निर्जला उपवास बस्नु नै हो । उपवास पछि भोलि शुक्रवार अष्टमीको बिहान विधिवत् व्रत सम्पन्न गर्नेछन् ।

अर्घ तथा घरमा ओगट्न दिँदै ब्रतालुुहरु 
व्रत बस्नु अघि ओगट्नमा कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ जसलाई स्थानीय भाषामा ‘माछ मरुवा’ भनिन्छ । बतालु महिलाले ओंगटनमा इच्छा अनुसार दही च्युरा, केरा, माछा, मासु, ओलको तरकारी खाने गरेको पाइन्छ । त्यसपछि कठिन उपवासमा बस्तछन । आश्विन कृष्णपक्षको अष्टमीको दिनसम्म मनाइने यो व्रत विशेष कठिन रहेको व्रतालु सावित्री कुमारीले बताइन ।