पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

बीपीको आदर्शलाई कहिल्यै भूल्न सकिन्नः सभापति देउवा

radionepal

कमला पाण्डे, रुपन्देही । नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका संस्थापक नेपा बीपी कोईरालाले लिएको नीति तथा आदर्श र सिद्धान्तलाई कहिल्यै पनि भूल्न नसकिने बताउनु भएको छ । 

पार्टीका संस्थापक नेता बीपी कोईरालाको जन्मजयन्तीको अवसरमा नेपाली काँग्रेस रुपन्देहीले बुधबार आयोजना गरेको ‘जननायक बीपी कोईरालाको प्रजातान्त्रिक समाजवाद, नेपाली काँग्रेस र नेपालको राजनीतिक अवस्था’ विषयक भिडियो अन्तरसंवाद कार्यक्रममा बोल्दै सभापति देउवाले बीपीले लिएको नीति र सिद्धान्त नेपालको परिवेश अनुसारको भएकाले उहाँको नीति र सिद्धान्तलाई छोड्न नसकिने बताउनु भएको हो । 

२००७ सालमा नेपाली काँग्रेसले गरेको लोकतान्त्रिक आन्दोलनमा बीपीको योगदान अतुलनीय रहेको बताउँदै बीपीकै योगदान र दुरदर्शिताका कारण मुलुकमा बहुदलीय व्यबस्था स्थापना तथा संविधान सभाका माध्यमबाट संविधान बनाउने काम पुरा भएको उहाँले स्मरण गर्नुभयो । 

कार्यक्रममा बोल्दै पार्टीका महामन्त्री डा. सशांक कोइरालाले ‘ठूलो मान्छे भन्दा पनि असल मान्छे बन्नुपर्छ’ भन्ने बीपीको फिलोशपी (दर्शन) प्रचार प्रसार गर्नुपर्ने भनाई राख्नुभयो । उहाँले बीपीले प्रजातन्त्रकालागि धेरै दुःख गरेको स्मरण गर्दै प्रजातन्त्रको लडाईमा लामो समयसम्म जेल नेल सहनु परेको बताउनु भयो । 

त्यस्तै गरी पूर्वउपप्रधान तथा पार्टी पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले बीपी काँग्रेसका लागि मात्रै नभएर सबैका लागि उदाहरणीय र प्ररणाको स्रोत भएको बताउनु भयो । कार्यक्रममा बोल्दै उहाँले सरकारको समेत आलोचना गर्नुभयो । 

कोरोना महामारीका कारण बिदेशी भूमिका काम गर्न गएका युवाहरु वेरोजगार भई उद्धार चाहेपनि सरकारले उद्धार गर्न नचाहेको बताउनु भयो । उहाँले किसानको देश भनेर चिनिने नेपाल अहिले श्रमिकको देशको रुपमा चिनिन लागेको पनि औंल्याउनु भयो । 

पार्टीका केन्द्रीय सदस्य तथा संघीय संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले बीपी र काँग्रेस एक आपसमा पर्यायवाची जस्तो भएको टिप्पणी गर्नुभयो । 

त्यस अवसरमा उद्योगपति तथा प्रतिनिधि सभा सदस्य बिनोद चौधरीले काँग्रेसका संस्थापक नेता बीपीलाई उदार अर्थनीतिको परिकल्पनाकारका रुपमा चित्रण गर्नुभयो । काँग्रेसले लिएको उदार अर्थनीतिकै कारण २०४८ सालयता आन्तरिक मात्रै नभएर मुलुकमा बाह्य लगानी समेत भित्रिएको स्मरण गर्नुभयो । 

नेपाली काँग्रेस रुपन्देहीका सभापति तथा पूर्व राज्यमन्त्री अब्दुल रज्जाकको सभापतित्वमा कार्यक्रम भएको थियो ।