पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

गौरा पर्वको आज तेस्रो दिन ठुलिगौरा, चहलपहल भने छैन

radionepal

सीपी लोहिया, बैतडी । सुदूरपश्चिमीलेको मुख्य पर्व गौराको आज तेस्रो दिनमा व्रतालु महिलाहरूले गौरादेवीलाई गौरा घरमा भित्राउँदै छन् । स्थानीय भाषामा ‘ठुली गौरा’ भनिने आजको दिनलाई व्रतालु महिलाहरूले विशेष दिनको रूपमा लिने गरेका छन् । व्रतालु महिलाहरूले नुवाइधुवाइ गरी साँझको समयमा गौरालाई गौरा घरमा भित्राउने चलन छ । आजका दिन व्रतालु महिलाहरू एक ठाउँमा जम्मा भएर फाग गाएर गौरादेवीको पूजा गर्ने प्रचलन रहेको पण्डित देवदत्त भट्टले बताउनुभयो ।

गौरा र महेश्वरको प्रतिमूर्ति स्थापना गरेर व्रतालु महिलाहरूले फलफूल र बिरुँडाले गौरादेवीको पूजा पनि गर्ने गर्दछन् । व्रतालु महिलाहरूले धारण गर्ने दुवधागो पनि आजै गौरादेवीमा चढाउने चलन छ । यसका साथै साँझको समयमा ब्रतालु महिलाहरूले कुण्ड स्नान गर्दछन् ।

आज गौरादेवीमा चढाएको दुवधागोलाई भोलि दुर्वाष्टमी अर्थात् अठ्यावालीका दिन व्रतालु महिलाहरूले धारण गर्ने गर्दछन् । आज गौरा र महेश्वरको पूजा गरी व्रतालुहरुले राति मिठोमसिनो खाना खाने चलन रहेको सुर्नया गाउँपालिका ६का हरिना अवस्थीले बताउनुभयो ।

भोली दुर्वाष्टमी अर्थात अठ्यावालीका दिन महिलाहरूले गौरालाई गौराघरबाट गौराखलामा लगेर पूजा गर्ने चलन छ । तर यो बर्ष कोरोना कहरका कारण गौराको रौनकता नभएको स्थानीय बासिन्दाले बताएका छन् ।