पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

राङराङथलीसँग जोडिएको थामी इतिहास

radionepal

चिरञ्जीवी मास्के
दोलखा ।
सीमान्तकृत थामी जातिको उद्गम थलो हो सुष्पाको राङराङथली ।  यापति र सोनारी दुई श्रीमान् श्रीमती राङराङथली आएर थामी जाति भएका उनीहरूको जनसङ्ख्या अहिले झण्डै एक लाख पुगेको छ ।

तीनै सीमान्तकृत थामी जातिको इतिहास जोडिएको ऐतिहासिक तिलक पोखरी संरक्षणको लागि भीमेश्वर नगरपालिकाले अभियान सुरु गरेको छ ।

तिलक पोखरीको ऐतिहासिक महत्त्व जोगाउँदै पर्यटकीय केन्द्रको रूपमा विकास गर्न भीमेश्वर नगरपालिकाले काम सुरु गरेको नगरप्रमुख भरतबहादुर केसीले बताउनुभयो ।

परापूर्व कालमा सिमाङघाट, कुमाङघाटबाट भक्तपुरहँुदै यापति र सोनारीसहित तीन दाजु भाइको जोडी हाल दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर ५ मा पर्ने किरातिछाप आएको किंवदन्ती छ ।

उनीहरू मध्ये यापित र सोनारी वडा नम्बर १ मा पर्ने सुष्पाको राङराङथलीमा आएर बसोबास गरेको भनाई रहेको छ ।

किराँतिछापहँुदै राङराङथली आएर एउटा ओडारमा बसेका दुई बुढा बुढी यापित र सोनारीले आफुले लगाउने कपडा बनाउन अल्लोको बोक्रा तिलक पोखरीमा भिजाएर पकाउने र त्यसको कपडा बनाएर लाउने गरेको किंवदन्ती रहेको यापित सोनारी संरक्षण तथा सम्बद्धन समाज नेपालका अध्यक्ष भानुदास थामी बताउँछन् । तिलक पोखरीसँगै तीन वटा ढुङ्गा गाडेर बनाएको चुलो र केही माथि जङ्गलमा यापित र सोनारी बस्ने गरेको ओडार (गुफा) अहिले पनि सुरक्षित रहेको भानुदासको भनाई छ ।

यापित र सोनारीको जात थामी रहन गएको पनि रोचक किंम्वदन्ति पाइन्छ । वि.सं. १३८१ तिर सिमरौनगढमा हरसिंह देवले राज्य गर्थे भने दोलखामा त्यति बेला राजा नभए पनि हरसिंह देवकै निर्देशनमा कुनै सामन्तको राज चल्थ्यो ।

त्यति बेलै तिर दोलखा शहरको सामन्तले सुष्पाहुँदै बगेको खोलाबाट दाउराको ठुट्टाहरु बगाएर ल्याएको देखि माथि मान्छेको बस्ती छ की भनी खोजी गर्दा यापित र सोनारीलाई भेटेको भन्ने भनाई पाइन्छ । यापित र सोनारी सिमाङघाट, कुमाङघाट हुँदै आएर राङराङथलीमा थामिएर बसेकोले थामी जात रहन गएको किंवदन्ती प्रचलनमा रहेको भानुदास थामीको भनाई छ ।

यापित र सोनारीको आठ छोरी र सात छोरा रहेकोमा नजिक अरू कुटुम्ब नभएकोले सात छोरासँग सात छोरीको विवाह गरिदिएको भन्ने किंवदन्ती समेत पाइन्छ । एक छोरीलाई भने अरू कसैले गर्भधारण गराएको र त्यो छोरीबाट जन्मिएको सन्तानलाई थामीको रोइनी थर भनिएको र उनीहरू थामी जातिमा सानो जाति मानिने भानुदास बताउँछन् । थामीहरूको थाङथोङ, आक्याङमी, दुम्सीपेरे, मसानथी लगायत १८ वटा थर हुने यापित सोनारी संरक्षण तथा सम्बद्धन समाज नेपालका संस्थापक सचिव दिलिप थामीले बताए ।

तिलक पोखरीमा थामी समुदायले भूमे पूजा गर्ने र एकादशीमा फुल तार्ने परम्परा समेत रहँदै आएको स्थानीय जगतबहादुर थामीले बताए । थामी समुदायले चण्डी पूर्णिमामा उभौली पर्व र धन्य पूर्णिमामा उँधौली पर्व मनाउने गर्छन् । उभौली पर्वमा सुष्पाकै भूमे थानमा पूजा गरिने र उँधौली पर्वमा राङराङथलीमा रहेको मन्दिरमा पूजा गरिने जगतमानको भनाई छ ।

थामी जातिको उद्गम थलो राङराङथलीमा रहेको तिलक पोखरी, मन्दिर तथा चुल्होको संरक्षण गर्दै पर्यटकीय रूपमा विकास गर्न भीमेश्वर नगरपालिकाले अहिलेसम्म झण्डै ५५ लाख रुपैयाँ खर्च गरिसकेको इन्जिनियर सुरेश राउतले बताए ।

नगरपालिकाले तिलक पोखरीबाट वडा नम्बर ६ मा रहेको भ्यु टावरसम्म पैदल मार्ग बनाएको र चरिकोटबाट देउराली हुँदै तिलक पोखरीसम्म मोटर बाटो समेत बनेको इन्जिनियर राउतले बताए ।