पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

दम्पती हत्यामा संलग्न चारजना सार्वजनिक 

radionepal

हरिश्चन्द्र बाग, कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ७ भगतपुरका ७० वर्षीय वृद्ध घनश्याम खाती र ६८ वर्षीया वृद्धा बेली देवी खातीको यही साउन १६ गते राति भएको हत्या प्रकरणमा संलग्न चारजना अभियुक्तहरुलाई कञ्चनपुर प्रहरीले सार्वजनिक गरेको छ । 

खाती दम्पतीको हत्या अभियोगमा पक्राउ परेका सोही ठाउँ बस्ने छिमेकी ५३ वर्षीय प्रकाश ऐर, बेलौरी ७ गणेशपुर बस्ने ३५ वर्षीय दिनेश राना, बेलौरी ६ हात्तिबोझा बस्ने ३६ वर्षीय होरी राना र कञ्चनपुरकै कृष्णपुर नगरपालिका वडा नम्बर २ बाणी बस्ने ४५ वर्षीय रबि रानालाई सोमबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । 

श्रीमती बेली देवी खातीको घटनास्थलमै मृत्यु भएको थियो भने श्रीमान् घनश्याम खातीको उपचारको क्रममा आइतबार राति कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको बताइएको छ । बोक्सीको आरोपमा खाती दम्पतीको हत्या गरेको अभियुक्तहरुले बयान दिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले जानकारी दिनुभयो ।

मृतक खाती दम्पतीका छोरा ३८ वर्षीय राजेश खातीले दिएको जाहेरीका आधारमा उनीहरुलाई फरकफरक समयमा पक्राउ गरिएको थियो । छिमेकी प्रकाश ऐरले घनश्याम खातीलाई बोक्सी आरोप लगाएको विषयमा विगत लामो समय देखि एक आपसमा रिसइबी समेत रहेको बुझिएको छ । 

अभियुक्त प्रकाश ऐरले चार लाख रकम दिने सम्झौतामा भर्रा भनिने रबि रानाले धारिलो हतियार प्रयोग गरी खाती दम्पतीको हत्या गरेको बताइएको छ । बाँकी दुई जना दिनेश राना र होरी रानाले घटना हुनु पूर्व योजनावद्ध रुपमा राजेश खातीलाई घटना हुने बेलासम्म घरबाट बाहिर अन्तै लगेर अत्याधिक मदिरा सेवन गराएको र घटना पश्चात खातीकै घरसम्म पुर्याइदिएको अनुसन्धानबाट खुलेको छ । 

अभियुक्तहरुले प्रयोग गरेका दुई थान मोटरसाइकल र अभियुक्त रबि रानाको घरमा लुकाइछिपाई राखेको एक लाख पचास हजार नगद रकम समेत प्रहरीले अनुसन्धानका क्रममा बरामद गरेको थियो ।