पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

कर्मचारीलाई आलोपालो गरी काममा लगाउन राष्ट्र बैंकको निर्देशन

radionepal

भुवनप्रसाद आचार्य । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सबै कर्मचारीलाई एकै पटक काममा नलगाई आलोपालो गर्न निर्देशन दिएको छ ।

राष्ट्र बैंकले आइतबार निर्देशन जारी गर्दै आवश्यकता अनुसार समूह विभाजन गरी आलोपालो प्रणालीमा कर्मचारी खटिने व्यवस्था मिलाउन भनेको हो ।

विभिन्न स्थानमा बन्दाबन्दी कायमै रहेको र कतिपय ठाउँमा निषेधाज्ञा, सार्वजनिक तथा निजी सबारी साधनको आवगमनमा जोर बिजोर प्रणाली लगायत भएकाले ‘वर्क फ्रम होम’ व्यवस्था मिलाइ काम गराउन पनि राष्ट्र बैंकले भनेको छ ।

प्रदेशस्थित शाखा कार्यालयहरुको हकमा सम्बन्धित प्रदेश सरकार, स्थानीय तह र स्थानीय प्रशासन मार्फत हुने निर्णय वा सूचनालाई समेत आधार मानी प्रदेश कार्यालयहरुसँगको समन्वयमा न्यूनतम कर्मचारीबाट बैंक तथा वित्तीय संस्थाहरुको सेवा सुचारु गर्न पनि राष्ट्र बैंकले भनेको छ । 

साथै वैकल्पिक रुपमा सञ्चालन गर्न सकिने शाखाहरु त्यही अनुसार सूचना जारी गरी वैकल्पिक रुपमा आलोपालो सञ्चालन गर्ने व्यवस्था मिलाउन पनि राष्ट्र बैंकले भनेको छ ।

राष्ट्र बैंकले सेवा सुचारु नगरिएका शाखाहरुको विवरण दैनिक रुपमा राष्ट्र बैंकलाई जानकारी गराउन र विद्युतीय माध्यमबाट कारोबारलाई थप प्रोत्साहित गर्न पनि बैक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।