पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

बढी हुने बिजुली बेच्न र किन्न सक्नेसम्बन्धी निर्देशिका पारित

भुवनप्रसाद आचार्य । सरकारले नेपालमा खपत भएर बढी हुने बिजुली विदेशमा बेच्न र किन्न सक्ने सम्बन्धी निर्देशिका पारित गरेको छ ।

ऊर्जा मन्त्रालयले नेपालमा बढी हुने बिजुली विदेशमा बेच्न र कम हुदाँ किन्न सक्ने सम्बन्धी निर्देशिका अनुमतिका लागि मन्त्रिपरिषदमा प्रस्ताव गरेकोमा मन्त्रिपरिषद बैठकले स्वीकृति गरेको हो । 

यो व्यवस्थासँगै आन्तरिक उत्पादन बढेर खपत हुन नसकेको विद्युत छिमेकी मुलुक भारत र बंगलादेशतर्फ पठाउन नेपाल विद्युत प्राधिकरणलाई बाटो खुलेको छ ।

मन्त्रिपरिषद बैठकले भारत र बंगलादेशवाट बोलपत्र वा डे अहेड, टर्म अहेड लगायत अल्पकालीन, मध्यकालीन वा दीर्घकालीन रुपमा विद्युत किनबेच गर्न प्राधिकरणलाई पूर्वस्वीकृति प्रदान गने निर्णय गरेपछि त्यसैअनुरुप तयारीहरु पनि अघि बढेको उर्जा मन्त्रालयले जनाएको छ ।

प्राधिकरणका अनुसार अहिले पनि पिक आवरमा केही घण्टा करिब एक सय मेगावाट बिजुली भारतबाटै आयात हुँदैछ । अन्य समयमा नेपालमै उत्पादन भएको बिजुली माग धान्न पर्याप्त छ । हाल पनि नेपालले वेट सिजनमा दैनिक ७० देखि ८० मेघावाट विद्युत भारतको विहारलाई बिक्रि गर्दै आएको छ ।

भारतको अन्तराष्ट्रिय विद्युत व्यापार सम्बन्धी निर्देशिकाले विदेशबाट ल्याएको बिजुली सिधै बेच्न नपाइने व्यवस्था गरेको छ । भारतको विद्युत व्यापार गर्ने एजेन्सीमार्फत बिजुली बेच्न सकिने व्यवस्था निर्देशिकाले गरेको छ । 

निर्देशिको व्यवस्था अनुसार भारतको ऊर्जासम्बद्ध मन्त्रालयले ‘कन्डक्ट अफ बिजनेस रुल’ (सीआरबी) जारी गर्न बाँकी छ । सिआरबि निर्देशिका पारित गरेर जारी हुनासाथ नेपालमा खपत हुन नकसकेको बिजुली नेपालले भारतमा जुनसुकै सयममा पनि बेच्न सकिने अवस्था निर्माण हुने उर्जा सचिव दिनेश घिमिरेले बताउनु भयो ।

सरकारले वर्षायाममा बढी हुने बिजुली देशभित्रै खपत गर्ने योजना समेत अघि बढाएको छ । अबको एक वर्षमा प्रतिव्यक्ति ऊर्जा खपत ९० युनिट बढाउने सरकारी लक्ष्य छ । अहिले २६० युनिट रहेको प्रतिव्यक्ति बिजुली खपत ३५० युनिटमा पुर्याउने योजनामा सरकार रहेको छ ।