पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

अस्पतालमा छैन सर्पदंशको औषधी

मेगराज खड्का, रुकुम । रुकुम पश्चिममा कोरोनाभाईरस संक्रमणसंगै सर्पदंशका बिरामी समेत बढ्न थालेका छन । जिल्लाको चौरजहारी नगरपालिकामा रहेको चौरजहारी अस्पतालमा सर्पले डसेका विरामीहरुका लागी आवश्यक पर्ने एन्टिस्नेक भेनम औषधीको अभाव भएको हो । 

वार्षिक रुपमा २० देखि ३० जना सर्पले डसेका विरामी आउने चौरजहारी अस्पतालमा एन्टिस्नेक भेनम औषधीको अभाव भएपछि अस्पतालले विरामीहरुलाई नेपालगञ्ज लगाएतका अस्पतालहरुमा रेफर गर्दै आईरहेको जनाएको छ । रुकुमको माथिल्लो भागमा विषालु सर्प कमै पाईने  भएपनि रुकुम पश्चिमको चौरजहारी क्षेत्रमा भने विषालु सर्पहरु पाईने गरेका छन ।  तर रुकुम विषालु सर्प नपाईने जिल्लाको सुचीमा स्वास्थ्य विभागले सुचिकृत गरे संगै एन्टिस्नेक भेनमको कोटेशन नगर्दा यस क्षेत्रमा रहेका सर्पदंशका विरामीहरुको ज्यान उच्च जोखिममा रहेको चिकित्सक वताउछन् ।
 
गत साउन १९ गते मध्यरातमा सर्पले डसेर अस्पताल पु¥याईएकी चौरजहारी नगरपालिका वडा नम्वर ७ कि ३५ वर्षिय चन्द्रा थापालाई चौरजहारी अस्पतालमा उपचार गरियो । ‘अस्पतालका स्वास्थ्यकर्मीहरुले विरामीका आफन्तहरुलाई पहिले नै अस्पतालमा औषधी नभएको जानकारी गराएका थिए’ अस्पतालका डाक्टर कालेब बुढाले भने, ‘तर उहाँहरुले नै अव्जरभेसनको लागी अस्पतालमा भर्ना गर्ने र यदि लक्ष्यण देखापरेको खण्डमा अन्यत्र लैजाने भनेपछि उहाँलाई भर्ना गरेर राखियो । खुसिको कुरा उहाँको उपचार यतै संभव भयो, अवस्था सामान्य भएपछि डिस्चार्ज गरियो ।’ चिकित्सकहरुका अनुसार विश्व र नेपालमा पाईने १० प्रजातिका विषालु सर्प किंग कोव्रा, गोमण, सानो कालो करेट, लक्ष्मी सर्प, बैरी करेट, हिमाली करेट, कर्कट सर्प, सेतो कालो चुरे सर्प, छिर्विरे सर्प र हरियो सर्पहरु पनि यस क्षेत्रमा पाईने वताईएको छ ।

यसै विच अस्पतालमा वर्षेनी वौलाह कुकुरले टोकेका विरामीहरुमा लगाईने रेविज भ्याक्सिन औषधीको पनि अभाव रहेको छ । अस्पतालमा कुकुरले टोकेका ५० देखि ६० जना विरामीहरु वार्षिक रुपमा अस्पताल आउने गरेको अस्पतालका तथ्यांक विभाग प्रमुख घुर्क वुढाथोकीले वताए । उनीहरुलाई दिईने रेविज भ्याक्सिन अस्पतालमा नभएपछि छिमेकी जिल्ला जाजरकोटमा रहेको जिल्ला अस्पताल र नेपालगञ्ज रेफर गर्नुपर्ने अवस्था रहेको अस्पताल प्रशासनले वताएको छ । अस्पतालमा एन्टिस्नेक भेनम र रेविज भ्याक्सिनको अभाव भए संगै एकातिर विरामीहरुको ज्यान उच्च जोखिममा हुने गरेको छ भने अर्काे तिर विरामीहरुले उपचारको लागी सास्ती भोग्नु पर्ने अवस्था विद्यमान छ । 

जिल्ला सदरमुकाम मुसिकोटमा रहेको सल्ले अस्पतालमा पनि सर्पदंशको उपचारमा प्रयोग हुने औषधी निकै कम रहेको बताईएको छ । १० भाईल एन्टिस्नेक भेनम मात्र रहेको जिल्ला अस्पतालले जनाएको छ । तर त्यो भाईल भने प्रयाप्त नरहेको स्वास्थ्यकर्मिले वताएका छन । यदि विषालु सर्पले डसेको खण्डमा एउटै सर्पदंशका विरामीलाई ८० भाईल सम्मको औषधी प्रयोगमा आएको अस्पतालको तथ्यांकमा उल्लेख छ । रुकुम पश्चिममा पनि केहि समय अघि एकजना सर्पदंशका कारण ज्यान गएको थियो ।