पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

एक सातादेखि जुम्लामा टेलिफोन र ईन्टरनेट अबरुद्ध

radionepal

सागर परियार, जुम्ला । जुम्लामा एक सातादेखि टेलिफोन र ईन्टरनेट सेवा पुर्ण रुपमा अबरुद्ध छ । कर्णालीमा निरन्तर रुपमा भईरहेको वर्षातका कारण कालिकोट रानी भर्ता स्थित रिपिटर टावरमा समस्या भएपछि सेवा अबरुद्ध भएको हो । पटक पटक रानी भर्तामै बिग्रिने भएपनि सुधारमा सम्बन्धित निकायले ध्यान नदिँदा स्थानीयले सास्ती पाएका छन् । कुरा गर्दैगर्दा फोन काटिने, कुरा नबुझिने, इन्टरनेट सेवाको सुस्तताले उपभोक्तालाई पछिल्लो समय हैरान बनाएको छ । प्रस्ट आवाज नआउने, नेटवर्क आउने जाने समस्याले नागरिकहरु आक्रोसित भएका छन् ।

सदरमुकाम खलङ्गामा समेत टेलिफोन र ईन्टरनेट सेवा प्रभावकारी छैन् । स्थानीय राम रावल भन्छन,“गाउँको अबस्था के होला ? यसमा सरोकारवाला निकायनै गैरजिम्मेवार देखिन्छन् । सूचना र प्रविधिको समयमा फोन लाग्ने आवाज नसुनिने समस्याले हप्ता देखि नागरिकले दुख पाईरहेका छन् ।” फोनको घण्टी जाने काटिने आवाजै नसुनिने, टावर आउने जाने र डाटानै नचल्ने प्रमुख समस्या हुन् । 

यता, नेपाल टेलिकम जुम्लाका कार्यालय प्रमुख रामचन्द्र श्रेष्ठ भन्नुभयो, ग्राहक बढ्दै गएको, लाईन धेरै बाडिएको, ट्रान्समिसन क्षमता पुरानै यथावत भएको, भर्तामा धेरै बिग्रने भन्दै जवाफ दिने गरेका छन् । एकै स्थानमा धेरै पटक समस्या आउँदा समेत टेलिकमको ध्यान नपुग्नु भनेको गैरजिम्मेवारपन भन्ने प्रश्नमा प्रमुख श्रेष्ठले जनशक्ति अभाव छ, ईलेक्टोनिक ज्ञान पनि धेरै छैन् यसमा केन्द्रमा माग गर्दा पनि सुनुवाई नभएको उल्लेख गर्नुभयो ।

उहाँका अनुसार यसका लागि प्रदेश कार्यालयलाई पत्राचार गरिएको छ । यही साउन ९ गते टेलिकम जुम्लाले प्रदेश कार्यालय सुर्खेतलाई लेखेको पत्रानुसार एक हप्तादेखि मोबाइल र डाटामा समस्या भएकाले यथाशीघ्र पहल गरिदिन अनुरोध गरिएको कार्यालय प्रमुख श्रेष्ठले बताउनुभयो । ट्रान्समिसन लिङ्क साँघुरो भएकाले बढाउनुपर्ने अवस्था छ । 

क्षमता मात्रै बढ्ने हो भने सुधारिन सक्छ । यसैगरी इन्टरनेटको ढिलाइले पनि उपभोक्ता आक्रोशित छन् । रकम मात्रै काट्ने तर सेवा प्रवाहमा ध्यान नदिने काम भएको छ । सञ्चारगृहमा समेत इन्टरनेट ढिलाइले एउटा समाचार पठाउन घण्टाँै लाग्ने गरेको पत्रकार महासङ्घका केन्द्रीय सदस्य पूर्णप्रसाद चौलागाईँले बताउनुभयो । इन्टरनेट कमजोरीका कारण बैंक तथा वित्तीय संस्थाका कामदेखि ई–प्रणालीबाट गरिने आर्थिक कारोवारसमेत प्रभावित हुने गरेको छ । गाउँपालिकामा त झन् हैरान छ । 

पछिल्लो समय बजारमा आएका वल्र्डलिङ्क, एभरेष्टलगायतका इन्टरनेट प्रदायकका इन्टरनेट सेवासमेत ढिलो चल्ने भएकाले हैरान भएको हो । इन्टरनेटका कारण गाउँपालिकाका धेरै काम प्रभावित हुने गरेको जुम्लाको पातारासी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढाथापाले बताउनुभयो ।  असारमा इन्टरनेटका कारण काम गर्न तनाव भएको कनकासुन्दरी गाउँपालिकाका लेखापाल गोपाल बुढाले गुनासो पोख्नुभयो ।