पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

राष्ट्र बैंकद्वारा अर्थतन्त्रमा पारेको प्रभाव सम्बन्धमा सर्वेक्षण

काठमाडौं । नेपाल राष्ट्र बैंकले कोभिड १९ ले अर्थतन्त्रमा पारेको प्रभाव सम्बन्धमा असारमा गरेको सर्वेक्षण गरेको छ । 

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि सरकारले चैत ११ गते देखि लकडाउ गरेपछि अर्थतन्त्रका विभिन्न क्षेत्रहरुमा पारेको प्रभावबारे प्रतिवेदन सार्वजनिक गरेको हो ।

प्रतिवेदनमा राष्ट्र बैंकले सर्वेक्षणमा सहभागी उद्योग र व्यवसायहरुमध्ये उद्योग र व्यवसायहरुले बैंक तथा वित्तीय संस्थाबाट ७४.३ र ८.७ प्रतिशतले बचत तथा ऋण सहकारी संस्थाबाट कर्जा लिएको देखिएको उल्ल्ेख गरेको छ ।

बन्दाबन्दी अवधिमा सर्वेक्षणमा सहभागी ४ प्रतिशत उद्योग र व्यवसाय पूर्ण रुपमा सञ्चालनमा रहेको, ३५ प्रतिशत उद्योग र व्यवसाय आंशिक रुपमा सञ्चालनमा रहेको र ६१ प्रतिशत उद्योग र व्यवसायहरु पूर्ण रुपमा बन्द रहेको पाइएको छ । 

यसरी अधिकांश उद्योग र व्यवसायहरु पूर्ण रुपमा बन्द रहनुले बन्दाबन्दीले अर्थतन्त्रमा गहिरो असर पारेको देखिन्छ । शिक्षा, होटल तथा रेष्टुरेन्ट, रियल स्टेट, भाडा तथा व्यावसायिक क्रियाकलापहरु र यातायात तथा भण्डारण क्षेत्रमा अधिक असर परेको देखिएको छ । 

बन्दाबन्दी अवधिमा ठूला र मझौैला उद्योग–व्यवसायको तुलनामा घरेलु उद्योग, लघु उद्यम–साना खुद्रा व्यापार र साना उद्योग–व्यवसायहरु बढी प्रभावित भएको समेत देखिएको छ ।

बन्दाबन्दी अवधिमा सर्वेक्षणमा सहभागी उद्योग–व्यवसायहरुले २२.५ प्रतिशत कर्मचारी–कामदार कटौती गरेको पाइएको छ । कटौती भएका मध्ये अस्थायी–करारका कामदार दुई तिहाइभन्दा धेरैरहेका छन् । 

होटल तथा रेष्टुरेन्ट क्षेत्रले सबैभन्दा धेरै कर्मचारी–कामदार कटौती गरेको देखिएको छ । सो अवधिमा घरेलु उद्योग र लघु उद्यम–साना खुद्रा व्यापारहरुले अन्यको तुलनामा धेरै कर्मचारी–कामदार कटौती गरेको पाइएको छ ।

बन्दाबन्दी अवधिमा सर्वेक्षणमा सहभागी उद्योग–व्यवसायहरुले औसतमा १८.२ प्रतिशत तलब कटौती गरेको पाइएको छ । यसका साथै कर्मचारी–कामदारलाई प्रदान गर्दै आएको भत्ता तथा अन्य सुविधाहरुमा समेत उल्लेख्य रुपमा कटौती गरेको देखिएको छ । 

तलब कटौती गर्नेमा होटल तथा रेष्टुरेन्ट, यातायात तथा भण्डारण र शिक्षा क्षेत्र अगाडी रहेका छन् । यस्तै, ठूला उद्योग–व्यवसायहरुले अन्यको तुलनामा धेरै प्रतिशत तलब कटौती गरेको देखिएको छ ।