पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

जनकपुरधाममा लगाईएको निषेधाज्ञाको पूर्ण पालना

radionepal

अजय कुमार झा, जनकपुरधाम । कोरोना संक्रमणको जोखिम बढेपछि जनकपुरधाम उपमहानगरपालिका र क्षिरेश्वरनाथ नगरपालिका क्षेत्रको शहरी भामा आजदेखि प्रशासनले निषेधाज्ञा आदेश जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाले गए राति १२ बजेदखि साउन २५ गते आइतबार राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेपछि जनकपुरधाम उपमहानगरपालिका तथा क्षिरेश्वरनाथ नगरपालिकाको राजमार्ग क्षेत्र सुनसान बनेका छन् ।

निषेधाज्ञाको कही कतै पनि हालसम्म पनि उल्लंघन नभएको प्रहरीले जनाएको छ । निषेधाज्ञाका पालनाका लागि नगरक्षेत्रमा प्रहरीको वाक्लो उपस्थिति गराएर सुरक्षा व्यवस्था कडा बनाउने काम भएको छ ।

सर्वसाधारणहरु आफै घर बाहिर ननिष्केका कारणले निषेधाज्ञाको कार्यान्वयनमा कुनै समस्या नभएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

कोरोना संक्रमण न्युनिकरण गर्न पूर्वमा जनकपुरको कपिलेश्वर बस पार्क, उत्तरमा क्षिरेश्वरनाथ नगरपालिकाको जनकपुर ढल्केबर सडक खण्डमा पर्ने औरही खोलाको पुल, पश्चिममा कुर्था जाने बाटो र बसबिट्टी जानेबाटोको दुधमती नदीको पुल, दक्षिमा बनौली मोड, बसहिया रोडको सोनासति मन्दिर, प्रदेशसभा जाने मोड बीच भागलाई समेटेर निषेधाज्ञा आदेश जारी गरेको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले कोरोनाका महामारीवाट आम नगरवासीलाई जोगाउनका लागि संक्रामक रोग ऐन, २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को ३ बमोजिम एकहप्ताको लागि निषेधाज्ञा आदेश जारी गरेको जानकारी गराउनु भएको थियो ।  

स्वास्थ्य, औषधि, खानेपानी, दुध, खाद्यान्न वस्तु, विद्युत, दमकल, इन्धन, सरसफाई, भन्सार, बैंक, क्वारेन्टाइन जस्ता अतिआवश्यक सेवा बाहेक सबै बन्द रहने तथा अनुमति प्राप्त सवारीसाधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने सवारी बाहेकका सबै सवारीसाधन चलाउन नपाउने जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।

निषेधाज्ञा आदेश लगाइएको क्षेत्र भित्र अति आवश्यक काम बाहेक घरबाट नस्किन प्रशासनले सर्वसाधारणमा आग्रह गर्दै निषेधाज्ञाको अवहेल्ना व्यक्ति माथि संक्रामक रोग ऐन,२०२० बमोजिम कारबाही गर्ने जनाको छ ।