पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

निर्माण व्यवसायीको लापरवाहीको कारण मध्य पहाडी लोकमार्ग निर्माणमा ढिलो

मालाती मोक्तान, धनकुटा । मध्यपहाडी लोकमार्ग अन्र्तगत हिले लेगुवा सडक खण्ड निर्माण कार्य निर्माण व्यवसायीको लापरवाहीको कारण ढिलो भएको प्रतिनिधिसभा सदस्य राजेन्द्र कुमार राईले वताउनुभएको छ । आज धनकुटाको पाख्रीवासमा स्थानिय जनप्रतिनिधि तथा प्रतिनिधिसभा सदस्यको अगुवाईमा आयोजित पत्रकार सम्मेलनमा वोल्दै उहाँले यस्तो वताउनुभएको हो । 

उहाँले पटक पटक सकड निर्माणको जिम्मा लिएको निर्माण व्यवसायी सँग काम छिटो सक्न छलफलमा वसेको भएपनि काम नभएको र ठेकेदार भागेको भन्दै अव यो टेण्डर तोडेर अर्को टेण्डर आह्वानको विकल्प नरहेको उहाँले वताउनुभयो । त्यस्तै जिल्ला समन्वय समितिका संयोजक  टंक चौहाले जनताको आधारभूत सेवा लिन पाउने अधिकारलाई  राज्यले प्रत्याभूत हुनेगरि दिनुपर्ने वताउनुभयो । कामको जिम्मा लिएका संस्था वा व्यक्तिले कानुन अनुसार काम गर्नुपर्ने र यदी नभए राज्यले कारवाही गर्ने वताउनुभयो । यता पाख्रीवास नगरपालिकाका मेयर वृष वहादुर राईले आफुहरुले पटक पटक सडक निर्माणको काम सक्न पहल गरेपनि काम नभएर जनताले सास्ति  खेप्नु परेको भन्दै विधि र प्रक्रिया पुर्याएर अर्को टेण्डर आह्वान गन आवश्यक रहेको वताउनुभयो । 

अहिले नगरले यो सडक निर्माणको जिम्मा  पाएको कम्पनी  सँग व्याकुलोडर नभएको हुँदा नगरले उपलव्ध गराएर सहयोग गरिरहेको जानकारी गराउनुभयो । सम्मेलनमा नगरका उपप्रमुख देवकला पौडेल तिम्सिना, विभिन्न राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि, सम्पूर्ण वडाका वडाध्यक्षहरु, जिल्ला सामुदायीक वन महासंघका अध्यक्ष  निल वहादुर थापा सहित सञ्चारकर्मीहरुको उपस्थिती थियो । 

हिले–पञ्चे र पञ्चे–लेगुवा जम्मा २६ किलो मिटर सडक निर्माणको काम कञ्चनजंघा कन्स्ट्रक्सन र  निर्माण व्यवसायी रौताहा सन्तोषी विरुवा ले २०७५ साल फागुन २२ मा सम्पन्न गर्नेगरि सम्झाता गरिएको यो सडकको काम अहिले सम्म ६५ प्रतिशत मात्र भएको जनाईएको छ । 

यो सडकको हिले पञ्चे १३ किलो मिटर निर्माणका लागि ३८ करोड २३ लाख २४ हजार ४ सय ६६ रुपयाँ र पञ्चे लेगुवा १३ किलो मिटर का लागि ३८ करोड २ लाख ३८ हजार ५७ पैसा मा सम्झौता भएकोमा निर्माण कम्पनिले अहिले  सम्म क्रमश २८ करोड २८ लाख ६६ हजार १ सय ५५ रुपयाँ ५९ पैसा र १८ करोड ६७ लाख १८ हजार ७ सय ६१ रुपयाँ ७६ पैसा भुक्तानी लिईसकेको प्रतिनिधिसभा संसद राई, जिल्ला समन्वय समितिका संयोजक चौहान र नगरप्रमुख राई द्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । सम्मेलन मार्फत निर्माण व्यवसायीहरुबाट काम सम्पन्न हुने सम्भव नदेखिएको हुँदा कामको जिम्मा लिएका व्यवसायीहरुको टेण्डर  रद्द गर्न  र चाडो निकासका लागि अर्को टेण्डर आह्वान गरि यो सडक लाई कालोपत्र गर्ने काम पूरा गर्न जोडदार माग गरिएको छ ।