पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

पिसिआर परीक्षण प्रयोगशाला स्थापनाको ६० प्रतिशत काम सम्पन्न

radionepal

सीपी लोहिया, बैतडी । बैतडीका कोरोना परिक्षणका लागि पिसिआर प्रयोगशाला स्थापनाको लागि भौतिक निर्माणको काम ६० प्रतिशत सम्पन्न भएको छ । जिल्ला अस्पताल बैतडीमा स्थापना हुने प्रयोगशाला स्थापना निर्माणको काम हाल धमाधम भइरहेको हो ।

प्रयोगशाला स्थापनाका लागि टाइलिंग र वायरिंगको काम सकिएको र अब आल्मोनियम पार्टेसनको काम भइरहेको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर बशन्तराज जोशीले जानकारी दिनुभयो । साउन महिनाभित्र मेसिन त्यपश्चात जडान गरेर भदौ दोस्रो हप्ताबाट परिक्षणको थालनी गर्ने योजनासहित भौतिक संरचना निर्माणको धमाधम भइरहेको उहाँले बताउनुभयो । 

यसका साथै प्रयोगशाला काम गर्ने प्रयोगशालाकर्मीका लागि सूचना आह्वान गरिएको छ । भाइरोलोजिस्ट अथवा क्लिनिकल माइक्रोबाइलोजिस्ट १ जना, बिएमएलटी र सिएमएलटी दुई दुई जनाका लागि सूचना आह्वान गरेको हो ।

यसका साथै जिल्ला अस्पतालका लागि १ जना एमडीजिपी गरेको चिकित्सकको लागि पनि सूचना आह््वान गरेको छ । आइसियू सञ्चालन भएपछि तथा शल्यक्रियाका लागि सहजताका लागि १ एमडीजिपीको लागि सूचना आह्वान गरेको डाक्टर जोशीले बताउनुभयो । 

हाल एमडीजिपी नहुँदा शल्यक्रिया गर्नुपरेपनि पनि बाहिरी जिल्ला पठाउनुपर्ने बाध्यता रहेको छ । 

प्रदेश सरकारले गत चैत १५ गते बैतडीसहित डोटी र धनगढीमा प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको थियो ।

हाल सुदूरपश्चिमका कैलाली र डडेल्धुरा गरेर २ स्थानबाट कोरोना परिक्षणको काम भइरहेको छ ।