पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सिन्धुपाल्चोकमा पहिरोले पुरिएका सबैको सनाखत

काठमाडौँ । सिन्धुपाच्लोकको मेलम्ची र पाँचपोखरीमा पहिरोमा परी मृत्यु भएका १० जनाकै सनाखत भएको छ । 

गएरातिको पहिरोमा परी मेलम्चीमा ८ जना र पाँचपोखरीमा २ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिनुभयो । 

मेलम्चीको पहिरोमा मृत्यु भएका वीरगञ्जका ४२ वर्षीय राजेन्द्र चौरासिया, ३५ वर्षीय प्रदीप चौरासिया, २५ वर्षीय विक्रम थिङ, २३ वर्षीय मानबहादुर रुम्बा, २० वर्षीय सिमन घलान, २१ वर्षीय शिव बालक धामी, १७ वर्षीय सोनाम लामा र एक जना भारतीय नागरिक राजेन्द्र चौधरीको सनाखत भएको छ । 

त्यस्तै, अविरल वर्षासँगै गएको पहिरोले सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–२ बरुवामा एक घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । 

बरुवाको स्वास्थ्य चौकी नजिकै घरमाथिबाट पहिरो खस्दा ४० वर्षीय यज्ञबहादुर क्षेत्री बञ्जरा र उनकी श्रीमती लक्ष्मी क्षेत्री बञ्जाराको मृत्यु भएको वडाध्यक्ष पासाङ लामाले जानकारी दिनुभयो । 

गएरातिको पहिराले पाँचपोखरी थाङपाल गाउँपालिकाका– १, २, ३, ६, ७ र ८ नम्बर वडामा ठूलो क्षति पुर्याएको छ ।