पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

दुई वर्षभित्र भलिबलको कभर्डहल बनाउने प्रतिबद्धता

अजय बम । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले दुई वर्षभित्र भलिबलको कभर्डहल बनाउने प्रतिबद्धता जनाउनुभएको छ ।

नव नियुक्त सदस्य सचिवको स्वागतमा नेपाल भलिबल संघले आयोजना गरेको कार्यक्रममा सिलवालले आफ्नो कार्यकालको सुरुवाती दुई वर्षमा भलिबलको कभर्डहल निर्माण गरिने बताउनु भएको हो ।

सदस्य सचिव सिलवालले कभर्डहलका लागि आफुले उच्च राजनीतिक नेतृत्वसंग लबिङ गरेको उल्लेख गर्दै राष्ट्रपति, प्रधानमन्त्री र अर्थमन्त्रीसँग समेत आग्रह गरेको जानकारी गराउनुभयो । सिलवाल अघिल्लो वर्ष भलिबल संघकै सिफारिसमा सदस्य सचिव हुनुुभएको थिए ।

कार्यक्रममा संघले परिषद्को बोर्ड सदस्यमा मनोनित पूर्व खेलाडी ईन्दिरा निरौला र रिम रानाभाटलाई समेत बधाई तथा शुभकामना दिएको थियो ।

सोमबार नै अर्को कार्यक्रममा सदस्य सचिव सिलवालले फुटबलको विकासका लागि अखिल नेपाल फुटबल संघ एन्फा र परिषद् मिलेर अगाडी जानुपर्ने जोड दिनुभयो ।

सातदोबाटो स्थित एन्फाको मुख्यालयमा आयोजना भएको स्वागत कार्यक्रममा बोल्दै सदस्य सचिव सिलवालले क्लब फुटबलको विकासका लागि एन्फाले योजना बनाउनुपर्ने जोड दिदै फुटबल पूर्वाधार क्लबका लागि आवश्यक रहेको बताउनुभयो ।