पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

प्रदेश २ का ६ कर्मचारीमा कोरोना संक्रमण

radionepal

अजय कुमार झा, जनकपुरधाम । प्रदेश नंं २ का मुख्यमन्त्री तथा मन्त्रीपरिषद्का ६ जना कर्मचारीमा कोरोना संक्रमणको आज पुष्टि भएको छ ।

कोरोना परीक्षणका लागि स्वाव संकलन गर्ने काम हिजो भएकोमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा परीक्षण एक जना शाखा अधिकृत, नायव सुब्वा सहितका ३ जना तथा २ जना सवारी चालकमा संक्रमणको पुष्टि भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जानकारी दिनु भएको छ ।

उक्त कार्यालयमा कार्यरत रहेका सबैको स्वाब संकलन गरेर परीक्षण गर्दा उहाहरुमा कोरोना पुष्टि भएको उहाँले बताउनु भयो । अहिले प्रदेशको अन्य मन्त्रालयहरुको कर्मचारी तथा पदाधिकारीहरुको स्वाब संकलन गर्ने काम भईरहेको सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिनु भयो ।

यसैगरी, प्रादेशिक अस्पताल जनकपुरधाममा कार्यरत रहेका २ जना चिकित्सक सहित १४ जनामा कोरोनाको संक्रमण भएको प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिनु भयो । यस अघि प्रादेशिक अस्पतालका ४ जना कर्मचारीमा कोरोना संक्रमण भएको थियो ।

पछिल्लो पटक संक्रमित हुनेहरुमा स्टाफ नर्स, पारामेडिकल कर्मचारी, ल्यावका कर्मचारीहरु तथा सफाईका कर्मचारीहरु रहेका छन् ।

हिजो मात्र पि सि आर परीक्षणका लागि स्वाव संकलन गर्ने काम भएका थिए । कोरोनाका पुष्टि भएका वार्डहरु आई सी यु तथा डायलाईसीस दिने शाखा शील गरिएको थियो ।

धनुषामा पछिल्लो २४ घण्टामा मात्र ३० जनामा कोरोनाको संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

महोत्तरीमा ३० जना, पर्सामा ३८ जना, बारामा ३ जना, सिरहामा र सर्लाहीमा १– १ जना गरेर कूल १ सय ३ जनामा कोरोनाको संक्रमण भएको सामाजिक मन्त्रालयले पुष्टि गरेको छ ।