पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

संक्रमित दुई भारतीय व्यापारी सम्पर्कविहीन

रामप्रसाद आचार्य, रुपन्देही । रुपन्देहीको बुटवलमा भारतबाट आएर व्यापार गरेका दुई जना व्यापारी कोरोना संक्रमण भएको पुष्टि भएपछि सम्पर्कविहीन बनेका छन् । दुई दिनसम्म उनीहरु सम्पर्कमा आएका छैनन् । 

लकडाउनको समयमा भारत गएका उनीहरु केहीदिन अगाडि फर्केका थिए । बुटवलको हाटबजारमा व्यवसाय गर्नेहरु लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आफै गई शुल्क तिरेर स्वाब परीक्षण गराएका थिए । परिक्षणमा कोरोना पोजेटिभ भेटिएपछि उनीहरु सम्पर्कविहीन भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिनुभयो । 

उनीहरुको खोजीको लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा जानकारी गराइएको अस्पतालले जनाएको छ । 

खुला सिमानाका कारण भारतबाट आउने व्यवसायी तथा मजदुरबाट संक्रमण बढेकाले सिमानामा कडाई गरिएको प्रमुख जिल्ला अधिकारी महादेव पन्तले बताउनुभयो ।  उहाँले सबै व्यवसायीलाई भारतीय मजदुर ल्याउदा स्वीकृत गर्न र अनिवार्य चेकजाँच गराउन आग्रह गर्नुभयो । 

यता वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीसँगै बसेका बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी र प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्मा होम क्वारेन्टिनमा बस्नुभएकोे छ । उहाँहरु नगर विकास कोषको काठमाडौंमा सम्पन्न कार्यक्रममा संगै बस्नुभएको थियोे ।