पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नेपाल र चीनबीच समस्या रहित कुटनीतिक सम्बन्धको ६५ वर्ष

radionepal

अर्जुन श्रेष्ठ

नेपाल र जनवादी गणतन्त्र चीनबीच कुटनीतिक सम्बन्ध कायम भएको ६५ बर्ष पूरा भएको छ । सदियौँदेखि भूगोल, संस्कृति एवं परम्पराले घनिष्ठ सम्बन्ध गाँसिएको नेपाल–चीनबीच सन् १९५५ अगस्ट १ मा कूटनीतिक सम्बन्ध कायम भएपछि दुई देशबीचको सम्बन्ध थप प्रगाढ बन्दै गएको छ ।

नेपाल एक चीन नीतिप्रति सदैब प्रतिबद्ध छ भने चीनले पनि नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता तथा राजनीतिक स्वतन्त्रताको सम्मान गर्दै आएको छ ।

शान्तिपूर्ण सह–अस्तित्व र पञ्चशीलका आधारमा आपसी सम्बन्ध स्थापित भएको दुई मूलुुकबीच पछिल्लो समयमा भएका उच्चस्तरीय भ्रमण आदान–प्रदान र जनस्तरमा समेत बढ्दै गएको द्विपक्षीय सम्बन्धले दुई मुलुकको सम्बन्ध थप सुदृढ र घनिभूत बन्दै गएको बुझ्न सकिन्छ ।
कूटनीतिक सम्बन्ध कायम भएको ६५ बर्ष पूरा गरिरहँदा दुई देशका बीचमा राजनीतिक, सामाजिक, आर्थिक लगायतका क्षेत्रमा आपसी सम्बन्ध र सहयोग समेत थप विस्तार भएको छ ।

सन् २०१९ अप्रिल–मे महिनामा राष्ट्रपति विद्यादेवी भण्डारीबाट भएको चीनको राजकीय भ्रमण, सन् २०१८ जुन महिनामा प्रधानमन्त्री के पी शर्मा ओलीबाट भएको चीनको औपचारिक भ्रमण र सन् २०१९ को अक्टोबर महिनामा चिनियाँ राष्ट्रपति सी चीन फिङ्गबाट भएको नेपालको राजकीय भ्रमणले द्विपक्षीय सम्बन्धलाई गुणात्मक वृद्धि गरेको छ ।

यी भ्रमणहरुपछि भएका पारवहन सम्झौता र त्यस सम्बन्धि प्रोटोकल कार्यन्वयन, केरुङ्ग–रसुवागढी–काठमाडांै सीमापार रेलमार्ग आयोजनाको पूर्व सम्भाव्यता अध्ययन, सीमा व्यवस्थापन प्रणाली सम्बन्धी सम्झौता आदि जस्ता महत्वपूर्ण र द्विपक्षीय सम्बन्धमा दूरगामी प्रभाव पार्ने सम्झौताले समस्यारहित नेपाल र चीनसम्बन्धलाई थप उचाइमा पु¥याएको छ ।

सह–अस्तित्व र आपसी सहयोगमा आधारित सदियौं पुरानो नेपाल–चीन सम्बन्ध विश्वमै नमुना सम्बन्ध पनि हो । करिब १४ सय बर्ष पुरानो लिखित इतिहासले नेपाल र चीनबीचको घनिष्ठता प्रष्ट पार्छ ।

चीनका पूर्व राजदूत टंक कार्की नेपाल र चीन बीच सातौं शताब्दीको पूर्वाद्धतिरै राजनीतक र कुटनीतिक दौत्य सम्बन्ध रहेको बताउनुहुन्छ । पूर्व राजदूत कार्की सन् १९४९ पछि स्थापित नव चीन को प्रसंगमा सन् १९५५ अगस्ट १ मा नेपाल–चीन कूटनीतिक सम्बन्ध कायम भएपछि दुई देशबीचको सम्बन्ध नया युग अनुसार अघि बढेको बताउनुहुन्छ । नयाँ सम्बन्ध गाँसिएपछि सदियौंदेखिको पुरानो सम्बन्ध थप परिभाषित गर्दै बलियो र विश्वमा मुलुकहरुबीच हुने सम्बन्धमध्ये उदाहरणीय र नमुना सम्बन्धका रुपमा देखिएको उहाँको भनाई छ ।

विश्वमै एउटा बलिया अर्थतन्त्र र उदयीमान शक्ति राष्ट्रका रुपमा रहेको मित्रराष्ट्र चीन सँगको सम्बन्ध पछिल्लो समय समाजिक, आर्थिक, सास्कृतिक र राजनीतिक हर हिसावले सवै क्षेत्रमा फराकिला भएर गएका छन् यो नेपालका लागि सुखद पक्ष हो ।

विश्वमै बलियो अन्तराष्ट्रिय लगानी स्रोतका रुपमा देखिएको चीन सँगको हाम्रो सम्बन्ध राजनीतिक तथा आर्थिक विकासका लागि महत्वपूर्ण अवसर पनि हो ।

चीन ले नेपाललाई सह–अस्तित्व र पञ्चशीलका सिद्धान्तका आधारमा सार्वभौम र स्वतन्त्र मूलुकका रुपमा प्राकृतिक विपदमा मात्र हैन सदैव सहयोग गर्दै आएको छ । २०७२ सालको भूकम्पपछिको पुनर्निर्माणमा चीन को सहयोग नेपालका लागि महत्वपूर्ण रह्यो । भूकम्पपछि २५ वटा पुनर्निर्माण सम्बन्धी आयोजना चीन सरकारको सहयोग प्राप्त भयो जसमध्ये अहिले ११ वटा आयोजना सम्पन्न भईसकेका छन् भने १४ वटा कार्यान्वयनको चरणमा छन् ।

यस्तै नेपाल र जनवादी गणतन्त्र चीनबीच बीआरआई सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर, नेपाल र चीनबीच हिमालय वारपार बहुआयामिक सम्पर्क संजालको वृहत्तर संरचनाभित्र सडक, रेलमार्ग, उड्डयन, सञ्चार र बन्दरगाहको विकास जस्ता विषयमा सहमति भएका छन् जसले नेपाल–चीनबीच कनेक्टिभिटीमा थप जोड दिइएको छ ।

नेपाल–चीन सीमापार रेलमार्ग र टोखा–छहरे तथा बेत्रावती–स्याफ्रुबेसी सुरुङमार्गको पूर्व संभाव्यता अध्ययन, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापनामा चीन सरकारले गरेको सहयोग नेपाल–चीन बीचको द्विपक्षीय सहयोग अन्तर्गत प्राथमिकता प्राप्त आयोजनाका रुपमा रहेका छन् ।

चीनसँगको सुमधुर सम्बन्ध नेपालको आर्थिक लगायत समग्र विकासका लागि अवसर हो । पूर्व राजदूत कार्की हिजो कमजोर चीन हुँदादेखि बाँसबारी छालाजुत्ता कारखाना, भृकुटी कागज कारखाना, हेटौडा कपडा कारखाना जस्ता कैंयौ उद्योग स्थापना र सञ्चालनमा सहयोग गर्दै आएको भन्दै आज पनि चीन विआरआई मार्फत नेपालको आर्थिक–समाजिक विकासमा उदारताका साथ प्रस्तुत भएको बताउनुहुन्छ ।
नेपालले नेपाल–चीनबीच पारवहन सन्धि तथा यस सम्बन्धि प्रोटोकल कार्यन्वयनमा ल्याएको छ । पारवहन सन्धि तथा यस सम्बन्धि प्रोटोकल कार्यान्वयनमा आएसँगै नेपाललाई तेश्रो मुलुकसँग व्यापार गर्ने बाटो खुलेको छ ।

सडक पूर्वाधार निर्माण, उर्जा, खानेपानीको गुणस्तर लगायत तेल तथा ग्यासको अन्वेषणमा समेत सहयोग गर्दै आएको चीन सरकारले दुई देशबीचको सीमा नाका विस्तार गर्ने र चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएका नेपालको उत्तरी क्षेत्रका १५ जिल्लाको जीवनस्तर सुधारका लागि शिक्षा, स्वास्थ्य, खाद्य तथा सामग्री समेत सहयोग गरेको छ ।

चीनका लागि नेपालका पुर्व राजदूत डा. महेश मास्के नेपालको आर्थिक सामाजिक विकासमा चीनसँगको सम्बन्ध ज्यादै महत्वपूर्ण भएको बताउनुहुन्छ । नेपाल–चीनबीच प्राचीन कालदेखि नै सुमधुर सम्बन्ध रहेको र चीनको स्थायित्व नेपालको आर्थिक विकासको राम्रो अवसर भएको डा. मास्केको भनाइ छ ।

आथिक, सामाजिक, सास्कृति र राजनीतिक हरेक क्षेत्रमा नेपाल–चीन सम्बन्ध नमूना र उदाहरणीय छ । एउटा बलियो अर्थतन्त्र रहेको चीन करिब १४ सय किलोमिटर लामो साँध सिमाना भौगोलिक र संगै आत्मीय सम्बन्ध जोडिएको समृद्धिको बाटोमा बामे सर्दै गरेको मित्र नेपालको सामाजिक–आर्थिक लगायत राजनीतिक क्षेत्रमा महत्वपूर्ण सहयोग गर्न सक्छ र गर्दै पनि आएको छ ।

खासगरी तिब्बतको मुद्दामा नेपालले पनि चीनको चासो र चिन्तालाई सम्बोधन गर्दै आएको छ र चीनले पनि नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता तथा राजनीतिक स्वतन्त्रताको सम्मान गर्दै एक असल मित्रको रुपमा राख्दै आएको छ ।

समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न चीन नेपालका लागि एउटा भरपर्दो असल मित्र रहेको दुई मत हुन सकिदैन ।