पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सल्यानमा बालविवाहको शैली फेरिदै

दिपक शर्मा, सल्यान । सल्यानमा बालविवाह गर्ने शैली फेरिदै गएको पाइएको छ । जिल्लामा प्रहरीले बालविवाह न्यूनीकरण गर्नका लागि अभियान सुरु गरेपछि बालविवाह गर्नेहरूले विवाहको शैली नै परिवर्तन गर्न थालेका छन् ।

केटापक्षका परिवारले पक्राउ पर्ने डरले दुलाहा दुलहीलाई विवाहको धार्मिक कार्यविना नै भित्र्याउन थालेका छन् ।

गाउँघरमा सबैलाई खबर गरेपछि बालविवाह भएको थाहा हुने र प्रहरीले पक्राउ गर्ने डरले नै धार्मिक विधिअनुसार विवाह  नगरी नगरेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

कपुरकोट गाउँपालिका र बनगाड कुपिण्डे नगरपालिकाका पछिल्ला बालविवाहका घटनाले बालविवाहको स्वरुपमा परिवर्तन आएको पाइएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताए । बालविवाह गर्नेहरु धार्मिक विधि भन्दा घरपरिवार मात्र संलग्न भएर विवाह गर्ने गरेको पाइएको छ उनले बताए । 

जिल्लामा प्रहरीले बालविवाह न्यूनीकरणका लागि अभियान तीव्र पारेपछि बालविवाहका घटनाहरू बाहिर नआउनुमा विवाहको शैलीसमेत फरक हुन थालेको खतिवडाको भनाई छ  । उनले भने ‘हामीले स्थानीय तहसँग मिलेर बालविवाह न्यूनीकरणका लागि जिल्लाभरी अभियान नै सञ्चालन गरेका छाँै, तर अहिले प्रहरीले पक्राउ गर्ने डरले धार्मिक विधि अनुसार विवाह नगरेर फरक शैलीमा विवाह गर्ने गरेको सूचना प्राप्त हुन थालेको छ ।

प्रहरीले बालविवाहमा संलग्नलाई मात्र होइन जिल्लामा हुने सबै प्रकारका विवाह हुनुभन्दा अगावै छापिने निमन्त्रण कार्ड छाप्नुभन्दा पहिले नै अनिवार्य रूपमा जन्मदर्ताको प्रतिलिपी राखेर मात्रै छाप्ने गरी जिल्लामा रहेका छापाखानाहरूलाई लिखित कागज गराएको छ ।

विवाह गराउन जाने पण्डित तथा ज्योतिषीहरूलाई समेत विवाह हुनुपूर्व नै केटाकेटीको जन्मदर्ता ल्याएपछि मात्रै  विवाह गराउने शर्त गराएको छ  ।