पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

वीरगंजमा १ सय २२ जना होम आईसोलेशनमा बस्न बाध्य संक्रमितको घर शिल गरी सूचना टाँसियो 

radionepal

ध्रुव अधिकारी, वीरगंज । वीरगंजमा कोरोना संक्रमित बढदै गएसँगै अस्पतालमा राख्ने ठाउँको अभावमा १ सय २२ जना भन्दा बढी संक्रमितहरु घरमै बस्न बाध्य भएका छन् । 

वीरगंजमा आज सम्म गरि कुल १ सय ८४ संक्रमितहरु भेटिएको र ति मध्ये ६२ जना गण्डक अस्पतालको आईसोलेशनमा रहेका छन भने १ सय २२ जना अस्पतालमा राख्ने ठाउँ नभएपछि घरमै होम आईसोलेशनमा बस्न बाध्य भएका छन् । 

होम आईसोलेशनमा बस्न बाध्य भएकाहरुको पहिचानका लागि अहिले वीरगन्ज महानगरपालिकाले कोरोना संक्रमितको घरमा स्थानीयवासीलाई सतर्क रहन सूचना टाँसेको छ । 

कोभिड–१९ पोजिटिभ केसको घर, होम आइसोलेसन सतर्क रहौँ’ लेखिएको सूचना महानगरपालिकाका स्वास्थ्यकर्मीले टाँसेका हुन् । आज अपरान्ह सम्म ४१ वटा घरमा यस्तो सूचना टाँसिएको महानगरपालिका स्वास्थ्य महाशाखाले जनाएको छ ।

वीरगन्ज महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख अरुण महतोका अनुसार कोभिड अस्पतालको भार कम गर्न लक्षण नभएका कोरोना संक्रमितलाई घरमै होम आइसोलेसनमा राखिएको हो । 

होम आइसोलेसनमा बसेका संक्रमितको घर अगाडि सूचना टाँस्दा स्थानीयवासीलाई जानकारी हुने र उनिहरु पनि सतर्क रहने बताउनुभयो । कोभिड अस्पतालको क्षमताले धान्न नसकेपछि लक्षण नभएका संक्रमितलाई होम आइसोलेसनमा राखिएको महतोले बताउनुभयो । 

पछिल्लो समय वीरगन्जमा ‘मिश्रित केस’ देखिएको छ । कसैमा कोरोना संक्रमणको लक्षण देखिएको छ भने कसैमा लक्षण देखिएको छैन ।  लक्षण नभएकालाई घरमै आइसोलेसनमा राख्दा कोभिड अस्पतालको लोड कम हुन्छ । घरमा पूर्वाधार हुनेहरुलाई घरमै होम आइसोलेसनमा राखिएको महतोले बताउनुभयो ।
होम आइसोलसनमा बस्दा कोरोना संक्रमितले आइसोलेसनसम्बन्धी १४ बुँदे स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने हुन्छ । 
वडा अध्यक्ष, नजिकका प्रहरी कार्यालय र स्वास्थ्यकर्मीको टिमले १४ बुँदे स्वास्थ्य मापदण्ड पालना गर्ने मन्जुरीनामा संक्रमित परिवारसँग गराउँछन् । संक्रमितसँग प्रत्येक दिन बिहान र साँझ स्वास्थ्यकर्मीे सम्पर्कमा आउने स्वास्थ्य महाशाखाका प्रमुख महतोले बताउनुभयो ।