पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

थप दुई सय २७ जना कोरोना सङ्क्रमण मुक्त, मृतकको सङ्ख्या ५२ पुग्यो

radionepal

बालिका मादेन
काठमाडौँ ।
आज थप दुई सय २७ जना कोरोना भाइरस सङ्क्रमण मुक्त भई घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले आज विभिन्न स्थानमा रहेका आइसोलेसन सेन्टरबाट दुई सय २७ जना सङ्क्रमण मुक्त भएसँगै सङ्क्रमण मुक्त भई घर फर्किनेको कूल सङ्ख्या १४ हजार दुई सय ४८ पुगेको जानकारी दिनुभयो ।

यसै गरी आज देशका विभिन्न स्थानमा रहेका विभिन्न प्रयोगशालामा छ हजार तीन सय चार जनामा गरिएको परीक्षणमा दुई सय ७४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार आज देश भरी सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार दुई सय २७ जना रहेका छन् ।
यसै गरी कोरोना भाइरस सङ्क्रमणबाट थप तीन जनाको मृत्यु भएसँगै सङ्क्रमण पुष्टि भई मृत्यु हुनेको सङ्ख्या ५२ पुगेको छ ।

सङ्क्रमणबाट पर्सा जिल्ला वीरगन्ज महानगरपालिका–७ का ७० वर्षीय पुरुष, वीरगन्ज महानगरपालिका–५ का ६८ वर्षीय पुरुष र मोरङ जिल्ला सुनवर्सी नगरपालिका–८ का ४८ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिनुभयो ।

देशका विभिन्न स्थानमा रहेका क्वारेनटाइनमा आज १३ हजार दुई सय एक जना रहेको मन्त्रालयले जनाएको छ ।