पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

संवैधानिक आयोगहरूको अध्ययन गर्न उपसमिति गठन

radionepal

तुलसी सापकोटा
काठमाडौं ।
प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिले तीन वटा संवैधानिक आयोगहरूको वार्षिक प्रतिवेदन लगायतका विषयमा अध्ययन गर्न छुट्टाछुट्टै अध्ययन उपसमिति गठन गरेको छ ।

समितिको आज सिंहदरबारमा बसेको बैठकले सांसद रेखा शर्माको संयोजकत्वमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सांसद यशोदा सुवेदीको संयोजकत्वमा निर्वाचन आयोग र सांसद विजय सुब्बाको संयोजकत्वमा लोकसेवा आयोगको कामकारबाहीलगायतका विषयमा अध्ययन गर्न पाँच÷पाँच सदस्यीय उपसमिति गठन गरेको हो ।

अध्ययन उपसमितिले सम्बन्धित संवैधानिक आयोगहरूको वार्षिक प्रतिवेदन, अधिकार क्षेत्र, यसले गरिरहेको काम र समितिले दिएको निर्देशनको पालना लगायतका विषयमा अध्ययन गरी १५ दिनभित्र समितिमा प्रतिवेदन पेस गर्ने समयावधि तोकिएको छ ।

यसअघि आजको बैठकमा भएको लोकसेवा आयोगको वार्षिक प्रतिवेदन माथिको छलफलमा लोकसेवा आयोगले बदलिएको परिस्थितिमा पनि आफ्नो छवि उच्च बनाइ राख्ने गरी आफ्ना काम कारबाही गर्नु पर्नेमा सांसदहरुले जोड दिनुभयो ।

बैठकमा लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीले लोकसेवा आयोगले पछिल्लो समयमा परीक्षा प्रणालीमा सुधार गर्दै आफ्ना कामकारवाहीहरुलाई अझै पारदर्शी र निष्पक्ष बनाउँदै लगेको बताउनुभयो ।

अध्यक्ष मैनालीले पछिल्लो समय लोकसेवा आयोगले गर्ने नियुक्तिहरूमा समावेशी सहभागिता बढ्दै गएको पनि स्पष्ट पार्नुभयो ।

उहाँले विभिन्न सार्वजनिक निकायहरूले कर्मचारीको सेवा परिवर्तन, बढुवा लगायतमा लोकसेवा आयोगको परामर्श लिनै पर्ने बाध्यताका कारण लिने गरेको भए पनि त्यसको कार्यान्वयन नहुँदा भने समस्या उत्पन्न भइरहेको समेत बताउनुभयो ।