पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नेपाललाई ‘थिमकन्ट्री’का रूपमा प्रस्तुत गरिने

काठमाडौं । चीनको सिचुवान प्रान्तको कान्च प्रिफेक्चरमा बुधबारदेखि हुने अन्तर्राष्ट्रिय हिमाली पर्यटन तथा सांस्कृतिक मेलामा नेपाललाई ‘थिमकन्ट्री’का रूपमा प्रस्तुत गरिने भएको छ ।

मेलाको मुख्य आकर्षण हस्तकला प्रदर्शनीमा ३० कक्षमा नेपाली सामग्री राखिने छ । मेलामा विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनी र पर्यटकीय नगरी पोखराको प्रवद्र्धन गरिने छ । 

नेपालको प्रतिनिधित्व एवं संयोजन गर्ने जिम्मा पाएको साइनो नेपाल मिडिया सोसाइटीका अनुसार तीन दिवसीय मेलाकै अवसर पारेर नेपाल–चीन साना तथा मझौला उद्योग प्रवद्र्धनसम्बन्धी कार्यशाला आयोजना हुनेछ । 

मेलामा थिमकन्ट्रीका रूपमा नेपाललाई प्रस्तुत गरिए पनि नेपाल सरकारलाई कुनै आर्थिक भार पर्ने छैन । कार्यक्रमको सबै खर्च चीन सरकारले नै व्यहोर्ने सोसाइटीले जनाएको छ । 

पोखरासँग भगिनी सम्बन्ध स्थापित भएको सिचुवान तिब्बत, छिङ्गहाई, कान्सु र युनानप्रान्तको सङ्गमस्थल मानिन्छ । हिमाली कला र संस्कृतिमा भरिपूर्ण भएकाले त्यहाँ आयोजना गरिने मेलामा नेपाललाई थिमकन्ट्रीका रूपमा प्रस्तुत गर्न सफल भएको सोसाइटीका अध्यक्ष ध्रुव पौडेलले बताउनुभयो ।

कान्चमा चीन सरकारले हिमाली कला, संस्कृति र पर्यटनसम्बन्धी चीन र दक्षिण एशियाको प्रदर्शनी केन्द्र निर्माण गर्ने योजना बनाएको छ । प्रदर्शनी केन्द्रमा पनि नेपाललाई पहिलो प्राथमिकता दिन कान्च सरकारले वचन दिइसकेको र यससम्बन्धी समझदारीपत्रमा स्थानीय सरकार र सोसाइटीबीच हस्ताक्षरसमेत गर्ने कार्यक्रम रहेको छ ।