पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

बाढी पहिरोका कारण ६ जनाको मृत्यु

radionepal

काठमाडौं । अबिरल वर्षापछिको बाढी, पहिरोका कारण बागलुङ, रुकुमपश्चिम र कालिकोटमा गरी ६ जनाको मृत्यु भएको छ भने ६ जना वेपत्ता भएका छन् । 

पहिरोका कारण बागलुङमा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक राजेन्द्र रेग्मीले जानकारी दिनुभयो । 

उहाँले तमानखोला २ खोलेसोबाङका पानबहादुर विकको घर पुरिँदा उहाँकी १२ वर्षिय छोरी रिता विक र १३ वर्षिय छोरा खिमवहादुर विकको मृत्यु भएको जानकारी दिनुभयो । 

निसीखोला गाउँपालिका—१ मा पनि स्थानीय कमल परियारको घर पुरिँदा उहाँका छोरा ५ वर्षिय समिर परियारको मृत्यु भएको रेग्मीले बताउनुभयो ।

यस्तै खोलाले बगाएर निसीखोला गाउँपालिका ५ की ६७ की जैकला घर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

त्यसैगरी रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका–९, स्यालाखेतमा आज बिहान पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सोही वडाका २२ वर्षीय नवीन सुनार र १६ वर्षीय बलबहादुर सुनारको रहेको प्रहरीले जनाएको छ । 

उता, कालिकोटको रास्कोट नगरपालिका—१ मा गए राती पहिरोले घर बगाउँदा एकै घरका पाँचसहित ६ जना बेपत्ता भएका छन् । 

वडा नं. १ को बडलतोला भन्ने स्थानमा रहेको जयबहादुर शाहीको घर पहिरोले बगाउँदा शाहीसहित उहाँका २ छोरा, १ छोरी र एक आफन्त बालिकासहित पाँच जना पहिरोमा परिएका कालिकोटबाट हाम्रा संवाददाता रत्न कार्कीले जनाएका छन् । 

पहिरोकै कारण वडा नम्बर १ को पोदमारामा अर्का एक स्थानीय पनि बेपत्ता भएका संवाददाता कार्कीले जनाएका छन् ।