पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

कोरोना संक्रमित बढेपनि प्रदेश २ मा भेन्टिलेटरको अभाव

radionepal

अजय कुमार झा, जनकपुरधाम । प्रदेश नंं २ मा कोरोनाको संक्रमणको दर तथा संक्रमितको मृत्यु हुने क्रम बढेपनि प्रदेशका सरकारी अस्पतालहरुमा भेन्टिलेटरको अभाव देखिन थालेको छ ।

खास गरेर पछिल्लो पटक भेन्टिलेटर आवश्यक पर्ने संक्रमितहरु कोरोना अस्पतालहरुमा आउन थालेकाले यसको समयमा व्यवस्थापन नभएको खण्डमा थप जोखिम बढ्दै गएको प्रादेशिक अस्पताल जनकपुरधामका कोरोना विषेश अस्पतालका संयोजक डा. जामुन प्रसाद सिंहले जानकारी दिनु भयो ।

पछिल्लो पटक धनुषामा मृत्यु भएका यूवाले जनकपुरधाममा भेन्टिलेटर खाली नभएका कारणले धरान स्थित वि पि कोईराला स्वास्थ्य विज्ञान अध्ययन प्रतिष्ठनमा उपचारका लागि रेफर गरी पठाईएकोमा बाटोमै मृत्यु भएको थियो ।

प्रदेश नं २ का सरकारले ५० वटा भेन्टिलेटर खरिद गर्नका लागि वैशाख ८ गते निर्णय गरेको र सामाजिक विकास मन्त्रालयका आपूर्ती केन्द्रले ३० वटाको टेण्डर गरेपनि खरिद हुन नसकेको आपूर्ती केन्द्रका प्रमुख डा. प्रमोद यादवले जानकारी दिनु भयो ।

टेण्डर गरिईएकालाई निरन्तरता दिने हो वा नयाँ गर्ने हो त्यसको निर्णय प्रदेश सरकारले गर्ने डा. यादवले जानकारी दिनु भयो । यस विषयमा अफूले मातहतका मन्त्रालय, मुख्यमन्त्री कार्यालय तथा आर्थिक विकास तथा योजना मन्त्रालयलाई जानकारी गराईसकेको बताउनु भयो ।

प्रदेश नंं २ को विभिन्न सरकारी अस्पतालको कोभिड अस्पतालमा बढीमा १० वटा भेन्टिलेटर रहेको छ । कतिपय ठाउँमा आई सि यु नभएकाले भेन्टिलेटरको कुनै अर्थ नहुने चिकित्सकहरुले बताउनु भएको छ ।

प्रादेशिक अस्पतालको कोरोना विषेश अस्पतालमा २, पर्सा जिल्लाको नारायणी विषेश अस्पतालमा ३, गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा ३ वटा, जलेश्वर अस्प्तालमा २ वटा गरेर १० वटा भेन्टिलेटर रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

भेन्टिलेटर अरु पनि भएपनि अन्य रोगमा प्रयोग हुँदै आएको छ । कोरोनाको उपचारका लागि भेन्टिलेटर समयमा थप नभएको खण्डमा मान्छेको ज्यान जाने खतरा रहेको चिकित्सकहरुले बताउदै प्रदेश सरकारले चाँडो भन्दा चाँडो भेन्टिलेटरको व्यवस्था गर्नु पर्ने अवस्था सृजना भएको छ ।

पछिल्लो समयमा प्रदेशको विभिन्न जिल्लाहरुमा कोरोनाको लक्ष्ण सहितका संक्रमितहरु देखा पर्न थालेका छन् । केही दिनमा मात्र प्रदेशमा कोरोनाका कारणले ९ जना सहित मृत्यु हुनेको संख्या १२ पुगेको छ ।