पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नेकपा विभाजनको कुनै गुञ्जायास छैनः नेता अधिकारी

कास्की । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशका सह–इञ्चार्ज खगराज अधिकारीले पार्टी विभाजनको कुनै गुञ्जायस नरहेको बताउनुभएको छ । 

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४२औँ स्मृति दिवसका अवसरमा नेकपा कास्कीले आज पोखरामा आयोजना गरेको ‘नेपाली कम्युनिष्ट आन्दोलनमा पुष्पलालको योगदान’ विषयक प्रवचन कार्यक्रममा उहाँले पार्टीमा बहस र छलफल भए पनि विभाजन नहुने स्पष्ट पार्दै कार्यकर्तालाई ढुक्क हुन आग्रह गर्नुभयो ।

पूर्वस्वास्थ्य तथा जनसङ्ख्यामन्त्री समेत रहनुभएका नेता अधिकारीले भन्नुभयो, “नेकपा एकीकृत नहुँदा संवैधानिक सङ्कटसमेत उत्पन्न हुन्छ, त्यसैले पार्टी एकताबद्ध छ, विभाजनको कुनै गुञ्जायससमेत छैन ।”

कम्युनिष्ट आन्दोलनमा ठूलो अपराध गुटबन्दी रहेको उल्लेख गर्दै उहाँले पुष्पलालको सपना पूरा गर्नसमेत विचारले पार्टीलाई निर्देशित गर्नुपर्नेमा जोड दिनुभयो । 

नेता अधिकारीले जाति तथा भाषाभन्दा माथि उठेर सङ्गठन, सङ्घर्ष र सिद्धान्तको नेतृत्व स्व पुष्पलालले गरेको बताउँदै पार्टीका केन्द्रदेखि प्रदेश, जिल्ला तथा स्थानीय तहमा रहेका पार्टी नेतृत्व तथा लाभको पदमा बसेकाहरुले समेत आफूभन्दा पनि पार्टीलाई केन्द्रमा राख्नुपर्नेमा जोड दिनुभयो ।

पार्टी केन्द्रीय कमिटीका सदस्य एवं जिल्ला इञ्चार्ज राजकाजी गुरुङले धैर्यतापूर्वक पार्टीका अग्रज नेताहरुले देखाएको बाटोमा अविचलित भई अघि बढ्नु नै उहाँहरुप्रतिको सम्मान रहेको बताउनुभयो ।

कार्यक्रममा पार्टी जिल्ला अध्यक्ष कृष्णबहादुर थापा तथा सचिव बखानसिंह गुरुङले संस्थापक महासचिव पुष्पलालको व्यक्तित्व तथा योगदानमाथि चर्चा गर्दै उहाँका सपना पूरा गर्न पार्टी कार्यकर्तालाई भावनात्मक रुपमा एकताबद्ध हुन आग्रह गर्नुभयो । 
रासस