पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

कोरोना अपडेटः नेपालमा हालसम्म ५० प्रतिशत सङ्क्रमण मुक्त, मृतकको सङ्ख्या ३८ पुग्यो

radionepal

बलिका मादेन
काठमाडौं ।
आज थप चार सय ३१ जना कोरोना भाइरस सङ्क्रमण मुक्त भई घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आज विभिन्न स्थानमा रहेका आइसोलेसन सेन्टरबाट चार सय ३१ जना सङ्क्रमण मुक्त भएपछि सङ्क्रमण मुक्त भई घर फर्किनेको कूल सङ्ख्या आठ हजार चार सय ४२ पुगेको जानकारी दिनुभयो ।

नेपालमा हालसम्म कोरोना भाइरसको सङ्क्रमण मुक्त भई स्वास्थ्य लाभ गर्नेको दर ५० दशमलव ५ प्रतिशत रहेको प्रवक्ता प्रा.डा. गौतमले बताउनुभयो ।

यसै गरी आज देशका विभिन्न स्थानमा रहेका २५ वटा प्रयोगशालामा तीन हजार छ सय ४८ जनाको रियल टाइम पिसिआर विधिबाट परीक्षण गर्दा ७० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

प्रवक्ता प्रा. डा. गौतमले दिनुभएको जानकारी अनुसार आज प्रदेश नं. १ मा १३ जना, प्रदेश नं. २ मा पाँच जना, वाग्मती प्रदेशमा १४ जना, गण्डकी प्रदेशमा १६ जना, प्रदेश नं. ५ मा १० जना, कर्णाली प्रदेशमा सात जना र सुदूरपश्चिम प्रदेशमा पाँच जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा हालसम्म १६ हजार सात सय १९ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

यसै गरी काठमाडौँ जिल्ला वडा नं १० शंखमूल निवासी ६० वर्षीय पुरुषको हिजो मृत्यु भएको छ । उहाँलाई मिर्गौला रोगको उपचारका लागि पाटन अस्पतालमा भर्ना गराई असार १७ गते गरिएको परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

यस्तै गरी सिन्धुपाल्चोक जिल्ला पाचँपोखरी निवासी ४५ वर्षीय पुरुषको असार २५ गते निधन भएको छ । उहाँलाई असार १८ गते क्षयरोगको उपचारका लागि पाटन अस्पतालमा भर्ना गराई उपचारका क्रममा कोरोना परीक्षण गर्दा असार २२ गते कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै काठमाडौँ जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं ४ निवासी ५४ वर्षका पुरुषको असार २५ गते मृत्यु भएको छ । उहाँ मिर्गौला रोगको उपचारका लागि कान्ति अस्पतालमा भर्ना भई गरिएको परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३८ पुगेको छ ।

देशका विभिन्न स्थानमा रहेका क्वारेनटाइनमा आज २४ हजार ९७ जना रहेका छन् भने आठ हजार दुई सय ३९ जना विभिन्न आइसोलेसन सेन्टर हरूमा रही स्वास्थ्य लाभ गरिरहेको मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिनुभयो ।