पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

बाढी–पहिरोको जोखिमयुक्त क्षेत्रको पहिचान गरी सतर्कता अपनाउन निर्देशन

radionepal

केशव ढुंगाना । विपत जोखिम न्युनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को आजको बैठकले बाढी र पहिरोको उच्च जोखिममा रहेका क्षेत्रहरू पहिचान गरी त्यस स्थानमा उद्धार र राहतका लागि आवश्यक सामग्रीहरू तयारी अवस्थामा राख्न सबै निकायलाई निर्देशन दिएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले विगत केही दिन देखिकोे अविरल बर्षा अझै केही दिन जारी रहने र थप धन–जनको क्षती हुन सक्ने निष्कर्ष निकाल्दैे सबै निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको परिषद्का सदस्य सचिव अनिल पोखरेलले जानकारी दिनुभयो । 

बैठकले बाढी र पहिरोका कारण अवरूद्ध भएका सडक खुलाउने र पुल तथा अन्य पूर्वाधारहरू यथासम्भव छिटो पुनः निर्माण गर्ने समेत निर्णय गरेको सदस्य सचिव पोखरेलले जानकारी दिनुभयो । 

बैठकले बाढी तथा पहिरोका कारण देशका विभिन्न स्थानमा भएको धन–जनको क्षतिको समिक्षा गर्नुका साथै उद्धार तथा राहतका कार्यक्रमलाई थप प्रभावकारी बनाउन आवश्यक निर्देशन दिएको सदस्य सचिव पोखरेलले बताउनुभयो । 

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, मन्त्रीहरू, सुरक्षा निकायका प्रमुखहरू राष्ट्रिय योजना आयोगका उपध्यक्ष, एवं विभिन्न मन्त्रालयका सचिवहरूको सहभागिता रहेको थियो ।