पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

देशभर पहिरोमा परी १७ जनाको मृत्यु, ४२ बेपत्ता

radionepal

काठमाडौं । देशका विभिन्न जिल्लामा बाढी पहिरोमा परी १७ जनाको मृत्यु भएको छ भने ४२ जना बेपत्ता भएका छन् ।

जाजरकोटको बारेकोट गाउँपालिका ४, सार्कीगाउँमा पहिरोले घर बगाउदा ७ जनाको मृत्यु भएको छ भने अन्य ७ जना बेपत्ता भएका छन् ।

पहिरोमा परीे बेपत्ता भएका मध्ये ५२ वर्षीय गोपाल सार्की, उनका ११ वर्षीय छोरा अर्जुन सार्की, १८ वर्षीया वीरेन्द्र सार्की तथा पाहुना गएका कुशे गाउँपालिका ९ चौताराका २० वर्षीया डिल्ली सार्कीको शव फेला परेको र अन्य तीन जनाको पहिचान हुन बाँकी रहेको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले जानकारी दिनुभयो ।

पहिरोमा परी बेपत्ता भएका ७ जनाको खोजी भइरहेको अध्यक्ष शाहले बताउनुभयो ।

बारेकोट गाउँपालिकाकै ६ धुमामा बाढीले बगाउँदा धुमाका २० बर्षीय शान्तबहादुर चलाउने र १० बर्षीय प्रचण्ड चलाउने बेपत्ता भएका छन्  ।

लगातार वर्षासँगै बाक्लो हुस्सु लागेकाले उद्धारमा कठिनाइ भएको छ ।

घटना स्थलमा अहिले प्रहरी तथा स्थानीयबासीले खोजि कार्य जारी राखेका छन् ।

पहिरोको त्रास बढेपछी बारेकोट गाउँपालिका भित्रका २ हजार घर परिवार बिस्थापित भएका छन् ।

बिस्थापितहरुलाई सरकारी कार्यालय र विद्यालयहरुमा सारीएको गाउँपालिकाका अध्यक्ष शाहले जानकारी दिनुभयो ।

यसैगरी म्याग्दीमा पहिरोले घर पुर्दा ३ जनाको मृत्यु भएको छ भने अन्य ३१ बेपत्ता भएका छन् ।

मृत्यु हुनेमा धौलागिरी गाउँपालिका ७ का प्रकाश केसी, डालिमा केसी र रघुगंगा गाउँपालिका ६ का नलिमान छन्त्याल रहेका छन् ।

पहिराले ३७ घर बगाउँदा धवलागिरीमा ७ मा २१ ,मालिका ७ बिममा ९ र मंगला ६ मा १ जना बेपत्ता भएका म्याग्दी स्थित हाम्रा संवाददाता सुरत केसीले जनाएका छन् ।

लगातार वर्षा भइरहेकाले उद्धारमा कठीई भएको छ भने गलेश्वरमा रहेको बेलिब्रिज बाढीले बगाउदा बेनी– जोमसोम सडकखण्ड अवरुद्ध भएको छ ।

यसैगरी, कास्कीको पोखरा महानगरपालिका–१८ सराङकोटस्थित गोठादीमा  टङ्कबहादुर थापाको घर पहिरोले पुरिँदा ५ जनाको मृत्यु भएको छ ।

पहिरोमा परी ५० वर्षीय टंकबहादुर थापासहित उहाँका श्रीमती ४५ वर्षीया सोममाया थापा, ११ वर्षीया इशिका थापा, ६ वर्षीय सुवान थापा र तनहुँ दमौली घर भएका आठ वर्षीय शीतल श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।

अन्य ८ जना घाईते भएका र उनीहरुको मणीपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ ।

यस्तै, पोखरा–२५ हेमजामा घर पहिरामा पुरिँदा ७० वर्षीया हिमकली अधिकारी र पोखरा २६ पैतेडाँडामा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

लमजुङको बेँसीशहर नगरपालिका–७ मा पहिरोले घर पुर्दा  ३३ वर्षीय दिपक तामाङ, नौ वर्षीय छेवाङ तामाङ र २६ वर्षीया विमाया तामाङको मृत्यु भएको  र अन्य तीन जना घाईते भएका प्रहरीले जनाएको छ । 

नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम)मा खोलाले बगाउदा बर्दघाट नगरपालिका–१५ वनकट्टीका  २० वर्षीय सुधिर विक र १८ वर्षीय प्रवीण विक बेपत्ता भएका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनुभयो ।