पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नेपालमा व्यावसायिक एमआरओ सेवा सञ्चालनको तयारी

रासस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वायुयानको परीक्षण तथा पार्टपुर्जा मर्मत सम्भार (एमआरओ) नेपालमै व्यावसायिक रुपमा सञ्चालनका लागि छलफल सुरु गरेको छ । 

पर्यटनमन्त्री योगेशकुमार भट्टराईसहित मन्त्रालयका उच्च अधिकारी तथा वायुयान सञ्चालक एवं विज्ञहरुसँग आज मन्त्रालयमा भएको छलफलमा एमआरओसम्बन्धी संस्था स्थापनाको अवधारणा, मोडालिटी, लगानी लगायतका बारेमा राय सुझाव लिइएको मन्त्रालयले जनाएको छ । 

त्यस अवसरमा पर्यटनमन्त्री भट्टराईले नेपालमा एमआरओसम्बन्धी संस्था सञ्चालनका लागि व्यावसायिक र पूर्वाधारका हिसाबले उपयुक्त रहेको भन्नुुहुँदै नेपाली पूँजी देशमै उपयोग गरी रोजगारी सिर्जनाका साथै उड्डयन क्षेत्रमा आत्मविश्वास बढाउन पनि  संस्थाको सान्दर्भिकता हुने बताउनुभयो । 

पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले सार्वजनिक निजी साझेदारी संस्थाका रुपमा एमआरओ सेवा सञ्चालन गर्न सकिने बताउनुभयो ।

छलफलमा विज्ञहरुले वायुयान मर्मतका लागि दक्ष जनशक्ति नेपालमै रहेको र पूर्वाधार पनि बनिरहेकाले यो सम्भावनाको व्यवसाय भएको धारणा राख्नुभयो ।