पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

असार २५ पछि नदीको बहाव बढ्ने, सावधानी अपनाउन आग्रह

रासस । जल तथा मौसम विज्ञान विभागले यही असार २५ गतेदेखि मुलुकभरका नदीनालामा पानीको बहाव बढ्ने पूर्वानुमान गरेको छ । 

विभागका प्रवक्ता वरिष्ठ मौसमविद् डा अर्चना श्रेष्ठका अनुसार मौसम सक्रिय रहेकाले धेरैजसो स्थानमा पानी पर्ने तथा कतै भारी वर्षा हुने देखिएको छ । 

असार २६ देखि २९ गतेसम्म धेरै स्थानका नदी सतर्कताको तह पार गरी खतराको तहसम्म पुग्ने भएकाले बेलैमा पू्र्वसावधानी अपनाउन भनिएको छ । असार २६ देखि २९ गतेसम्म कन्काइ, कोशी, कमला, वाग्मती, नारायणी र यसका सहायक नदीमा पानीको बहाव बढ्ने विभागले जनाएको छ । 

यस्तै प्रदेश नं १ र २, वाग्मती तथा त्यस आसपासका चुरे तथा तराईबाट बग्ने सबै नदीमा बहावले सतर्कता तह पार गरी केही स्थानमा खतराको तहसम्म पुग्ने सम्भावना रहेको छ । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज एक सूचना जारी गरी सम्भावित जोखिम रोक्न पूर्वतयारीमा जुट्न समयमै अनुरोध गरेको छ । 

प्राप्त विवरणअनुसार पछिल्लो २४ घण्टामा मुलुकभरको १३० वटा वर्षा मापन केन्द्रमध्ये सबैभन्दा बढी डडेलधुराको वर्षामापन केन्द्रमा १२४ दशमलव पाँच मिलिमिटर पानी परेको छ ।