पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

अध्ययन गरी प्रतिवेदन बुझाउन मन्त्रालयलाई निर्देशन

भुवनप्रसाद आचार्य । संसदको उद्योग समितिले एक औद्योगिक क्षेत्र र दुई विशेष आर्थिक क्षेत्रको अवस्था अध्ययन गरी प्रतिवेदन बुझाउन उद्योग मन्त्रालयलाई निर्देशन दिएको छ ।

संसदको उद्योग बाणिज्य तथा श्रम समितिको बैठकले राजविराज स्थित औद्योगिक क्षेत्र, भैरहवा स्थित विशेष आर्थिक क्षेत्र सेज र सिमरा स्थित गार्मेन्ट प्रोसेसिङ जोनको हालको निर्माण अवस्थाका वारेमा अध्ययन गरी १० दिन भित्र समितिमा प्रतिवेदन बुझाउन उद्योग मन्त्रालयलाई निर्देशन दिएको हो ।

समितिका सभापति विमलप्रसाद श्रीवास्तवको सभापतित्वमा भएको आजको बैठकमा संसदहरुले देशभरका औद्योगिक क्षेत्रहरुको अवस्था तथा राजविराज स्थित औद्योगिक क्षेत्रको अवस्था त्यसले ओगटेको जग्गाको अवस्थाका वारेमा उद्योग मन्त्रालयको ध्यानाकर्षण गराउनु भएको थियो ।

बैठकमा सांसदहरुले कोरोना संकटका कारण विदेशबाट आएका र नेपालमा समेत बेरोजगार भएकाहरुका लागि उद्योग मन्त्रालयको तर्फबाट रोजगारी श्रजनामा भएको तयारीको बारेमा मन्त्रालयको ध्यानाकर्षण गराउनु भएको थियो ।

बैठकमा उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयका उद्योग सचिव चन्द्र घिमिरेले विदेशबाट फर्केका र स्वदेशकालाई समेत लक्षित गरी उद्योग मन्त्रालयले आगामी वर्षमा उद्योग तथा अन्य कार्यक्रमहरुमा १ लाख २७ हजार भन्दा बढीलाई रोजगारी उपलब्ध गराउने लक्ष्य रहेको जानकारी दिनु भयो ।

सचिव घिमिरेले हाल ३ प्रदेशका ३ जिल्लामा मात्र सिमित रहेको सम्वृद्धि सम्बन्धी कार्यक्रमलाई अगामी वर्ष सुदुर पश्चिम र कर्णाली प्रदेशमा समेत विस्तार गर्ने योजना रहेको बताउनु भयो ।